विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिश
महानगरीय प्रहरी कार्यालय प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न बढुवा समितिले सिफारिश गरेको छ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिको सोमबार साँझ बसेको बैठकले एआईजी बढुवामा सिफारिश गरेको हो।
सरकारले केही दिन पहिले मात्र अचानक एआईजीमा एक नयाँ दरबन्दी सिर्जना गरेको थियो। पोखरेललाई बढुवा गर्नकै लागि यो दरबन्दी सिर्जना गरिएको सोमबार साँझ भएको बढुवा सिफारिशबाट प्रष्ट भएको छ।
नेपाल प्रहरीमा प्राविधिक बाहेक तीन जना मात्र एआईजीको दरबन्दी थियो। सात महीनाअघि डीआईजीको दरबन्दी घटाएको सरकारले एआईजीको दरबन्दी थप्दा डीआईजीमा पनि पाँच दरबन्दी थप गरेको थियो।
पोखरेललाई अहिले एआईजीमा बढुवा गर्दा उनी यसपछिको प्रहरी नेतृत्वमा पुग्ने एकमात्र दाबेदार हुनेछन्। त्यही जोडघटाउ गरेर उनलाई एआईजीमा बढुवा गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकृतले बताए।
प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री पोखरेललाई बढुवा गर्न नहुने अडानमा रहँदै आएका थिए। तर, सोमबार साँझ बढुवा समितिको सदस्य सचिवका हैसियतमा उनले नै बढुवासम्बन्धी सिफारिश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलको रुचिमा उनलाई यसअघि आकस्मिक रुपमा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो।