पश्चिमी वायुको प्रभावले धुम्मियो मौसम, केही स्थानमा वर्षा र हिमपातको संभावना
पश्चिमी वायुको प्रभावका कारण शुक्रबार मौसममा बदली आएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
यस्तै, शुक्रबार राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
तीन दिनको मौसम पूर्वानुमान गरेको महाशाखाले शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने तथा राति देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ।
यस्तै, आइतबार दिउँसो र राति देशभर मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।