बीबीसीको ‘माष्टर सेफ’ प्रतियोगिताको सेमिफाइनलमा पुगे सन्तोष साह
बीबीसीको चर्चित प्रतियोगिता ‘मास्टर सेफ प्रोफेसनल्स् यूके २०२०’ मा नेपाली मूलका सेफ सन्तोष साह सेमिफाइनलमा प्रवेश गरका छन्।
बीबीसीबाट गएको बिहीबार साँझ प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष सेमीफाइनलमा पुगेका हुन्। नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शोको १६ औं संस्करणमा प्रतिस्पर्धा गरिरहेका छन्।
क्वार्टरफाइनलमा उनले ‘स्टार्टर’ मा टिमुर स्पाइस्ड अक्टपस विथ सिस्नु र आलुको तरकारी, भाङको चटनी र कर्कलोको पातको परिकार बनाएका थिए। मेन कोर्समा भने पोलेको भेडाको मासु, खसीको झोल, बेथेको साग, गहुँको रोटी र माछा, तामाको अचारलगायत परिकार बनाएका थिए।
प्रतियोगीहरुले बनाएका खाना निर्णायक रहेका बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरुले चाखेर अंक प्रदान गरेका थिए। यसअघि पहिलो राउन्डमा सहभागी दुई प्रतियोगीलाई पछि पार्दै सन्तोष क्वार्टरफाइनलमा पुगेका थिए। अब अर्को हप्तामा नकआउट प्रतिस्पर्धा हुनेछ।
सन्तोष उक्त प्रतियोगितामा एसियन मूलका एक मात्र प्रतिस्पर्धी हुन् । प्रतियोगितामा धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी छन्। यसअघि उनले लण्डनका प्रख्यात सेफहरुसँग प्रशिक्षण लिनुका साथै काम पनि गरेका थिए।
उनी १३ वर्ष भारतका विभिन्न प्रतिष्ठित होटलमा काम गरेर सन् २०१० मा लन्डन पुगेका हुन्। लन्डनमा उनले ६ वटा रेष्टुरेन्ट र एक तारे होटलमा काम गरेर अनुभव हासिल गरिसकेको लन्डनकाठमाडौँडटकमले जनाएको छ। उनी अहिले लन्डनको सिनामन किचेनमा हेड सेफको रुपमा काम गरिरहेका छन्।