देशभरि करीब ४०० अस्पताल बनाउन रू. ५८ अर्बको स्रोत सुनिश्चित
स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न अर्थ मन्त्रालयले रकम व्यवस्थापन गर्ने भएको छ। मन्त्रालयले यी अस्पतालहरूको निर्माणमा लाग्ने करीब रू. ५८ अर्बको स्रोत सुनिश्चितता गरिदिएको हो।
अर्थमन्त्री विष्णु पौडेलले यी अस्पतालको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको अर्थ मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शय्याका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रकृया अघि बढाउन सहमति दिइएको बताएका छन्।
यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रूपमा उपलब्ध गराइनेछ। अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि रू. ६ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ।
सरकारले यसअघि नै गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न यही १५ मंसिरमा भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरेको थियो। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ।