रेडक्रसले दियो सरकारलाई ७ वटा भेन्टिलेटर
नेपाल रेडक्रस सोसाइटीले सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरूप उपलब्ध गराएको छ। रेडक्रसले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर उपलब्ध गराएको हो।
बिहीबार रेडक्रसकी उपाध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेको छ। रेडक्रसले सातवटै प्रदेशलाई एक÷एक वटा वितरण गर्नेगरी मन्त्रालयलाई सातवटा भेन्टिलेर उपलब्ध गराएको हो।
भेन्टिलेटर हस्तान्तरण कार्यक्रममा मन्त्री ढकालले रेडक्रसले गरेको सहयोग संक्रमित बिरामीहरूको उपचारका लागि महत्वपूर्ण हुने बताए। उपलब्ध भेन्टिलेटरहरू सात वटै प्रदेशका सबैभन्दा धेरै बिरामी आउने अस्पतालमा उपलब्ध गराइने मन्त्री ढकालले बताए।
रेडक्रसले उपलब्ध गराएको भेन्टिलेटरमध्ये एकवटा भेन्टिलेटर बागमती प्रदेश अन्तर्गत काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आजै उपलब्ध गराइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारतले २८ वटा भेन्टिलेटर र अमेरिकाले १०० वटा भेन्टिलेटर उपलब्ध गराएका थिए।