रोकिएन वीर अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका वीर अस्पतालका स्वास्थ्यकर्मीहरूको आन्दोलन ३१औं दिनसम्म पनि जारी रहेको छ। कोभिड भत्ता समयमै दिनुपर्ने, यसअघि खाइपाई आएको सेवा सुविधा कटौती गर्न नहुने, तलब समयमा उपलब्ध गराउनुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन्।
कोरोना भाइरस संक्रमित बिरामीहरूको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरूको मनोबल गिराउने काम सरकारले गरेको उनीहरूको आरोप छ। आफूहरूले पाउँदै आएको सेवा सुविधा कटौती गर्न नपाइने, कोभिड भत्ता समयमा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै २ कात्तिकदेखि उनीहरूले आन्दोलन थालेका थिए।
आन्दोलन निरन्तर चलिरहेको नेपाल चिकित्सक संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए। आन्दोलनरत स्वास्थ्यकर्मी, चिकित्सकहरूले सरकारले तोकेको सेवा सुविधा समेत पदाधिकारीहरूले नदिने गरेको आरोप लगाउँदै आएका छन्। वीर अस्पतालका एक कर्मचारी कल्पना ढुंगेलले कर्मचारीहरूले पाउनुपर्ने तलब भत्ता पदाधिकारीहरूले खाइरहेको आरोप लगाइन्।
चिकित्सकहरूले बिरामीको उपचार सँगसँगै आफ्ना आन्दोलनका कार्यक्रम अगाडि बढाएको बताएका छन्। आफ्ना माग पूरा नभए बिहीबार थप कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।