महानगरले रोकेपनि खुलामञ्चमा खाना खुवाइयो
काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेपनि हाम्रो टीम नेपालले खाना खुवाएको छ। कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिएपनि मानिसहरू लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए।
महानगरपालिकाले आजदेखि खुलामञ्चमा भेला गराएर नभई कुनैपनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टीम नेपाललाई आग्रह गरेको थियो। सोही अनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो।
तर, खाना खुवाउनका लागि उचित ठाउँको व्यवस्था गर्न नसकिएकाले फेरिपनि खुलामञ्चमा नै खाना खुवाउन आफूहरू बाध्य भएको पन्तले बताए। आफूहरूले प्याकेटमा खाना वितरण गर्न खोजेको भएपनि मानिसहरू खुलामञ्चमा नै लामबद्ध भएर बसेपछि पुरानै तरिकाले खाना वितरण गर्न बाध्य भएको उनले सुनाए।
खाना खान आउने मानिसहरूले भने खुलामञ्चमा खाना वितरण गर्ने कार्यलाई महानगरपालिकाले रोक्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले कि काम देऊ होइन भने खान देऊ भन्दै खाना खुवाउने कार्यक्रमलाई नरोक्न माग गरेका छन्।
कोरोना महामारीका कारण काम नपाएर भोकै बस्नुपर्ने बाध्यता भएपछि खुलामञ्च आई निःशुल्क वितरण गरिएको खाना खाने गरिएको उनीहरूले बताएका छन्। सडकमा बसेर खाना खान आफूहरूको रहर नभई बाध्यता भएको उनीहरू बताउँछन्।
हाम्रो टीम नेपालले ११ चैतदेखि बन्दाबन्दी भएपछि खाना खान नपाएर समस्यामा परेका व्यक्तिहरूलाई १४ चैतदेखि खाना खुवाउँदै आएको छ। शुरूमा उपत्यकाका विभिन्न ठाउँमा खाना वितरण गर्दै आएको यो समूहले पछिल्लो समय खुलामञ्चमा निःशुल्क खाना खुवाउने काम गर्दै आएको छ।
तर, काठमाडौं महानगरपालिकाले अव्यवस्थित रूपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न आग्रह गरेको छ। व्यवस्थित ठाउँमा खाना खुवाउने भए आफूले पनि सक्दो सहायोग गर्ने महानगरपालिकाले बताउँदै आएको छ।