पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना परीक्षण शून्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकबाट पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा एक जनाको पनि कोरोना परीक्षण नभएको भेटिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशका चार वटै सरकारी प्रयोगशालामार्फत एक जनाको पनि कोरोना परीक्षण हुन नसकेको हो।
कर्णाली प्रदेशमा कुल चार वटा कोरोना परीक्षण गर्ने प्रयोगशाला भएकोमा ती सबै सरकारी हुन्। त्यहाँ निजी प्रयोगशाला सञ्चालनमा छैन।
सुर्खेत प्रादेशिक अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, कोभिड–१९ परीक्षण प्रयोगशाला, दैलेख र रुकुम पश्चिमको चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामार्फत पछिल्लो २४ घण्टामा कोरोना परीक्षणको काम ठप्प छ।
कर्णाली प्रदेशका कुनै पनि प्रयोगशालाले कोरोना परीक्षण नगरे पनि अन्य प्रदेशमा भएका प्रयोगशालामार्फत कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा त्यहाँ आठ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २८ कात्तिकसम्ममा कर्णाली प्रदेशमा कुल ९० हजार १९९ जनाको कोरोना परीक्षण भएको छ। कर्णाली प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ४७ छ, भने १४ जनाको संक्रमणका कारण ज्यान गएको छ।
स्वास्थ्य मन्त्रालयका तथ्यांकले कर्णालीमा २८५ जना कोरोना संक्रमित घरमै आइसोलेसनमा बसिरहेको र ११ जना कोरोनाका सिकिस्त संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको देखाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले पछिल्ला दिनहरुमा न्यून संख्यामा स्वाब संकलन भएकाले परीक्षण रोकिएको बताए।
“हामीकहाँ ९६ वेलको अटोमेटेड रियल टाइम पीसीआर मेसिन सञ्चालनमा छन्। यो मेसिन सञ्चालन गर्न कम्तिमा ९० वटा स्वाब हुनुपर्छ”, डा. रावलले भने, “तर शुक्रबार जम्मा ३४ वटा मात्र स्वाब आएकाले परीक्षण गरेनौँ।”
उनले स्वाब संकलन कम मात्रामा हुन थालेपछि पछिल्ला दिनहरूमा एक दिनको अन्तरमा कोरोना परीक्षण गर्न थालेको बताए। डा. रावलका अनुसार अहिले त्यहाँ समुदाय स्तरमा गएर कोरोना परीक्षणका लागि स्वाब संकलनको काम रोकिएको छ।
“सरकारले कोरोना परीक्षणबाट प्रत्येक व्यक्तिबाट दुई हजार शुल्क लिने व्यवस्था गरेका कारण मानिसहरुले स्वाब दिन छाडेका छन्”, उनले भने, “सरकारले अब सरकारी प्रयोगशालाबाट लक्षण देखिएका व्यक्तिको निःशुल्क परिक्षण गर्ने भनेका कारण आउने दिनमा परीक्षण बढ्न सक्छ।”
१ कात्तिकमा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४९४ जनाको परीक्षण भएको थियो। २ कात्तिकमा स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण र उपचारमा शुल्क लिने व्यवस्था गरेको थियो। त्यसयता कर्णाली प्रदेशमा कोरोना परीक्षण घट्न थालेको थियो। सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क लिने निर्णय गरेपछि त्यसको विरोध हुँदै आइरहेको थियो।
उक्त निर्णयलाई सच्चाउँदै २८ कात्तिकमा स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेर मन्त्रीपरिषद्को २४ कात्तिकको निर्णय अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामार्फत अबदेखि कोरोनाको लक्षण वा चिन्ह देखिएका व्यक्तिको कोरोना परीक्षण र उपचार निःशुल्क हुने जनाएको छ।