नेपाल एयरलाइन्सको विमान रद्द प्रकरण : ६ जनालाई कारबाहीको सिफारिस
नेपाल वायु सेवा निगमको उडान रद्द प्रकरणमा छानबिन गर्न गठित समितिले ६ जनालाई कारबाही सिफारिस गरेको छ ।
तर, ती ६ जना को को हुन् भन्ने बारे भने समितिले बताउन चाहेन ।
१९ चैतमा राति ९ः१५ मा निर्धारित काठमाडौं–दोहा उडान रद्द भएपछि रातभर १६३ यात्रु विमानभित्र बसेका थिए ।
निर्धारित समयमा विमान उडान योग्य बनाउन नसकेको निगमले राति ९ः४७ मा कन्ट्रोल टावरसँग उडान अनुमति मागेको थियो । ड्रागन एयरको विमान उड्ने क्रममा रहेको भन्दै एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले निगमको विमानलाई उडान अनुमति दिएको थिएन ।
ड्रागन एयरको विमानले उडान भरेपछि राति ९ः५७ मा उड्न तयार रहेको भन्दै नेपाल वायु सेवा निगमको विमानले उडान अनुमति मागेपनि १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु एयर मिन’ (नोटाम) लागू हुने भन्दै उडान अनुमति दिन एटीसीले अस्वीकार गरेको थियो ।
विवेक प्रयोग गर्न नसक्दा मनवीय संवेदना भएको विषयमा एटीसीले उपयुक्त निर्णय गर्न नसकेको छानविन समितिका संयोजक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए ।
“समन्वय अभावले निगमको उडान रद्द भएको देखिन्छ”, लामिछानेले भने, “अबका दिनमा यस्ता घटना दोहरिन नदिन सबै निकाय जिम्मेवार बन्नुपर्छ । त्यसका लागि हामीले सुझाव दिएका छौं ।”
शुक्रबार मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बुझाइएको प्रतिवेदनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका ४ र नेपाल वायुसेवा निगमका २ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ ।
१९ चैतमा नोटाम लागू भएको भन्दै निगमको विमान रोकेको विमानस्थल कार्यालयले २७ चैतमा फ्लाई दुबईलाई १०ः१७ मा उडान भर्न दिएको विषयमा छानबिन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख रामकुमार क्षेत्री माथि छानबिन गर्न सिफारिस गरेको छ ।
अध्ययन समितिमा मन्त्रालयका सहसचिव लामिछानेबाहेक, निगमका निर्देशक राजेशप्रसाद श्रेष्ठ, वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशी र सदस्य सचिवमा प्राधिकरणका उपनिर्देशक विक्रमराज गौतम थिए ।