कमल थापाको टिप्पणी: देशको नामका अगाडि विशेषण जोड्नु आवश्यक थिएन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशको नामका अगाडि विशेषण जोड्नु आवश्यक नभएको टिप्पणी गरेका छन्। हालै सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को सट्टा नेपाल मात्र लेख्न गरेको निर्णयप्रति थापाले समर्थन जनाएका हुन्।
‘संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन’, थापाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सरकारको निर्णय ठीक छ। नाम अगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ–ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ।’
११ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको भन्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले मातहत निकायमा परिपत्र जारी गरेको थियो। २८ असोजमा जारी परिपत्रमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्न भनिएको छ।
सरकारी निर्णयको आलोचना भइरहेका बेला राप्रपा अध्यक्ष थापाले भने यसको स्वागत गरेका हुन्।