मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ- ‘सरकार विरुद्धको षडयन्त्र सामना गर्ने हो, सहयोग नगर्नेले छाडे हुन्छ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा देखिएका समस्याका बारेमा मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई ब्रिफिङ गरेका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका समयसमायिक राजनीतिक विषयमा मन्त्रीहरूलाई जानकारी दिँदै मिलेर सामना गर्नुपर्ने बताए। उनले सरकारविरुद्ध षडयन्त्र भइरहेको पनि बताए।
“केही समस्या देखिएका छन्, त्यसको सबैले मिलेर सामना गर्नुपर्दछ, त्यो मानसिकतामा तयार हुन सबैलाई आग्रह गर्दछु,” प्रधानमन्त्री ओलीको भनाइलाई उद्दृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले हिमालखबरलाई बताए।
एक अर्का मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले असहयोग गर्ने मन्त्रीलाई छोडेर जान समेत चेतावनी दिएका छन्।
पछिल्लो समयमा नेकपाभित्र मन्त्रिपरिषद् पुर्नगठन र सरकारमा सहभागी गराउने मन्त्रीको विषयमा दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच कुरा नमिलेपछि विवाद बढेको छ।
प्रधानमन्त्री ओलीले गत साउनमा पार्टीभित्र विवाद उत्पन्न हुँदा पनि मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई आफ्नो कित्ता स्पष्ट पार्न भनेका थिए।