बैंकबाट लाखौंको सुन–चाँदी चोरी
कृषि विकास बैंक शाखा कार्यालय, वीरगञ्जबाट लाखौं मूल्यको सुन–चाँदी चोरी भएको छ ।
वीरगञ्जको लिंकरोडमा रहेको बैंकको शाखा कार्यालयबाट १२ मंसीर राति करिब रु ३५ लाख मूल्य बराबरको ९८ तोला सुन र ७४५ ग्राम चाँदी चोरी भएको शाखा प्रबन्धक नारायण शर्माले जानकारी दिए ।
बैंकको दोस्रो तल्लामा पछाडीपट्टीको झ्यालको ग्रिल काटेर भित्र पसेको चोरले सेफ खोलेर सुन–चाँदी निकालेको प्रहरीले जनाएको छ ।
“चोरीको खबर आएपछि हामी पुग्यौं, साँचोले नै सेफ खोलेर सुनचाँदी निकालिएको रहेछ,” प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने, “त्यही सेफमा अझै पनि केही सुन–चाँदी बाँकी छ ।”
उपरीक्षक जोशीका अनुसार सेफको तीन वटा साँचोमध्ये खजान्ची र शाखा प्रवन्धकसँग रहेको साँचो सुरक्षित देखिएको छ । अर्को क्षेत्रीय कार्यालय पठाउनुपर्ने साँचो भने दराजमाथि फालिएको भेटिएको छ ।
उनले घटनाबारे अनुसन्धान भईरहेको बताए । प्रहरीले बैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
सुरेश बिडारी, वीरगञ्ज