नेपालका आठ खेलाडी शुन्य रनमा आउट
थाइल्यान्डको बैंककमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा टीम नेपालले श्रीलङ्कासँग लज्जास्पद हार व्यवहोरेको छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदान १३ मंसिरमा नेपाल आठ विकेटले पराजित भएको हो ।
आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हारेको नेपालले श्रीलंका विरुद्ध १६.२ ओभरमा सबै विकेट गुमाएर २३ रनको विर्सन लायक योगफल तयार पारेको थियो । अपत्यारिलो लक्ष्य पाएको श्रीलङ्काले ४.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा विजय लक्ष्य भेट्टायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ज्योति पाण्डेले १६, सीता राना मगरले चार र कप्तान रुविना क्षेत्रीले एक रन जोडेकी थिइन् । काजल श्रेष्ठ, नेरी थापा, इन्दु बर्मा, रश्मि चौलागाई, करुणा भण्डारी, सरिता मगर, सबनम राई र सरस्वती कुमारीले एक रन पनि जोड्न सकेनन् ।
नेपालले अर्को खेल १४ मंसिरमा बङ्गलादेशसँग खेल्नेछ ।