एक हजार दरका नक्कली नोटसहित एक जना पक्राउ
चितवन प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
४ कात्तिकमा चितवनको भण्डारा बजारमा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार रहेको भन्ने खबर आएपछि इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले १ हजार दरको नक्कली जस्तो देखिने १२ थान नोटसहित लोप्चनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, अनुसन्धानको क्रममा लोप्चनले कारोबार गरेको एक होटल र खाजाघरबाट रु. १००० दरको ७ थान नोट र राक्सीराङ गाउँपालिका-८ हलिजेस्थित उनको घरबाट रु.१ हजार दरको ३०२ थान नोट गरी रु.३ लाख २१ हजार नक्कली जस्तो देखिने नोटहरु बरामद भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।