बेरुत विस्फोटपछि नेपाली सैनिकको भूमिकाको फोर्स कमाण्डरले गरे प्रशंसा
लेबनानको राजधानी बेरुतमा भएको भयानक विस्फोटपछिका अवशेष हटाउन नेपाली सेनाले गरेको कामलाई लेबनानस्थित राष्ट्रसंघका फोर्स कमाण्डरले प्रशंसा गरेका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले लेबनानस्थित संयुक्त राष्ट्रसंघका फोर्स कमाण्डर, मेजर जनरल स्टेफेनो डेल कोलले नेपाली सैनिकको मुक्तकण्ठले प्रशंसा गरेको उल्लेख गरेको छ।
लेबनानको बेरुत पोस्टमा गत २० साउनमा भएको भयानक विस्फोटमा एक सयभन्दा बढीको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए। विष्फोटका अवशेष हटाई नयाँ निर्माणको थालनी गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले स्वीकृति दिएपछि लेवनानस्थित राष्ट्रसंघीय सैन्य मिसन, युनिफलमा कार्यरत नेपाली सेनाको स्वास्थ्यकर्मीको टोली खटिएको थियो।
सो टोलीले विस्फोटपछिका अवशेष हटाउन खटिएका सबैलाई कोभिड-१९ बाट सुरक्षित रहेर काम गर्ने वातावरण बनाएको, त्यसक्रममा घाइते भएका ९ जना कामदारको राम्रो उपचार र हेरचाह गरेको भन्दै फोर्स कमाण्डरले प्रशंसा गरेको निर्देशनालयले जनाएको छ।