सरकारलाई अनुपराज शर्माको आग्रह- 'मानवअधिकार आयोगले कारबाही सिफारिश गरेकालाई मुद्दा चलाऊ'
राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिश गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताएका छन्।
विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीको लागि सिफारिश हुँदा समेत पदको लाभ लिइरहेका व्यक्तिहरुलाई महान्यायाधिवक्ताको कार्यालय मार्फत तत्काल मुद्दा चलाउनुपर्ने शर्माले बताए। मानवअधिकार आयोगले २०५७ जेठदेखि २०७७ असारसम्म विभिन्न समयमा भएका घटनाका २८६ जना दोषीको नाम नै किटान गरी कारबाहीका लागि सिफारिश गरेको छ।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निवर्तमान अध्यक्ष शर्माले आयोगले सिफारिश गरेका व्यक्तिहरुमाथि अनुसन्धान गर्न भए पनि मुद्दा चलाउनैपर्ने बताए। मुद्दा दायर गर्दा दण्डहीनता घट्ने भएकाले पनि आयोगले सिफारिश गरेका व्यक्तिहरुमाथि मुद्दा चलाउनुपर्ने उनको भनाइ छ।
पछिल्लो समय जिल्ला अदालतबाट छिनिएका जघन्य अपराधका सरकारवादी मुद्दाहरु माथिल्लो तहमा अपिल नहुने गरी फैसला गर्ने र मिलापत्र गराउने गरेको पाइएको शर्माले बताए। राज्यले चलाउनुपर्ने गम्भीर प्रकृतिका मुद्दामा मिलापत्र गराउने प्रवृति रहेको उल्लेख गर्दै शर्माले त्यस्ता व्यक्तिमाथि समेत कारबाही हुनेगरी आयोगले सिफारिश गरेको बताए।
कारबाहीका लागि सिफारिश गरिएका व्यक्तिलाई सरकारले कारबाही नगरेर दण्डहीनतालाई प्रोत्साहन गरेको उनले बताए। मुद्दा चलाउँदैमा कारबाही भइहाल्ने भन्ने नभएको र त्यसमा विभिन्न पक्षबाट अध्ययन अनुसन्धान समेत हुने भएकाले अनिवार्य मुद्दा चलाउनुपर्ने उनले बताए।
संविधानले मानवअधिकारको अवधारणालाई प्रष्टसँग स्थापित गरेको भए पनि त्यसलाई अपनत्व लिनेगरी कसैले काम गर्न नसकेको शर्माको भनाइ छ।