राष्ट्र ब्यांकको तथ्यांक: तरकारीको मूल्य २६ प्रतिशत बढ्यो, कामदारको ज्याला र कर्मचारीको तलब बढेन
गएको भदौ महीनामा तरकारीको मूल्य २६.०९ प्रतिशतले बढेको देखिएको छ। नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांक अनुसार, अघिल्लो वर्षका तुलनामा तरकारीको मूल्य भदौमा एक चौथाइभन्दा बढीले वृद्धि भएको हो।
राष्ट्र ब्यांकका अनुसार, दाल र गेडागुडीको मूल्य १३.६३ प्रतिशतले बढेको छ। त्यसैगरी, घ्यु–तेलको मूल्य ८.५ प्रतिशतले, फलफूलको मूल्य ६.२१ प्रतिशतले र खाद्यान्नको मूल्य करीब ४ प्रतिशतले बढेको छ। समग्रमा खाद्य पदार्थ तथा पेय समूहको मूल्यवृद्धि ६.९१ प्रतिशतले बढेको छ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्य ह्वात्तै बढे पनि समग्र बजारको मूल्यवृद्धि भने औसत मात्रै रहेको राष्ट्र ब्यांकको दाबी छ। भदौसम्ममा उपभोक्ता मूल्यवृद्धि ४.५२ प्रतिशत मात्रै छ। अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मूल्यवृद्धि ६.१६ प्रतिशत थियो। तर, खाद्य समूहका वस्तुको मूल्य ह्वात्तै बढे पनि गैर खाद्य समूहको मूल्यवृद्धि भने २.६८ प्रतिशत मात्रै छ। खाद्य समूहको मूल्य वृद्धि हुँदा विपन्न र न्यून मध्यम वर्गका नागरिक थप मर्कामा पर्छन्।
बजारमा खाद्य वस्तुको मूल्य ह्वात्तै बढेको देखिए पनि कामदारको ज्याला र तलबको वृद्धि भने सीमान्त मात्रै छ। गएको भदौमा वार्षिक विन्दूगत तलब र ज्याला सूचकांक १.२० प्रतिशतले मात्रै वृद्धि भएको छ। यो असाध्यै न्यून हो। यसमध्ये पनि तलब सूचकांक ०.०१ प्रतिशतले मात्र बढेको छ। कोरोनाभाइरस संक्रमण महामारीका कारण आर्थिक क्रियाकलाप सुस्ताएका कारण ज्याला र तलब नबढेको अनुमान गरिएको छ। जबकि, अघिल्लो आर्थिक वर्षको यही अवधिमा ज्याला र तलब सूचकांक १२.९० प्रतिशतले बढेको थियो।
गएको वर्षको तुलनामा ब्यांक तथा वित्तीय संस्था, सरकारी कर्मचारी, सेना–प्रहरी, शिक्षा र निजी संघसंस्था क्षेत्रका कर्मचारीको तलब वृद्धि भएको छैन। सार्वजनिक संस्थानका कर्मचारीको तलबमा भने ०.१५ प्रतिशतले वृद्धि भएको छ।
भदौसम्ममा सबैभन्दा धेरै ज्याला वृद्धि औद्योगिक क्षेत्रका कामदारको भएको छ। औद्योगिक क्षेत्रका कामदारको ज्याला अघिल्लो वर्षको तुलनामा २.४५ प्रतिशतले बढेको छ।