बाढी-पहिरोबाट विस्थापितलाई स्थानान्तरणको जिम्मा स्थानीय तहलाई
बाढी-पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अनिल पोखरेलले स्थानीय तहको नेतृत्वमा लाभग्राही पहिचान गर्ने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी कार्यविधि तयार पारिएको बताए। कार्यविधि अनुसार विपद् व्यवस्थापनको काम सम्बन्धित स्थानीय तहले नै गर्नेछन् भने प्राधिकरणले आवश्यक समन्वय गर्नेछ।
स्थानीय सरकारलाई सहयोग गर्न जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने काम प्राधिकरणले गर्ने पोखरेलले बताए। पुन:स्थापनपछि जीविकोपार्जनका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रसँग सम्न्वय गरी विभिन्न कार्यक्रमहरु लागू गरिने पनि उनले बताए।
यस्तै, बाढी पहिरोबाट हुने क्षतिको वित्तीय व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने काम पनि प्राधिकरणले गर्ने भएको छ। सीईओ पोखरेलका अनुसार, जोखिमका लागि वित्तीय लगानीको अवधारणा अनुसार घर तथा सम्पत्तिको बीमा गर्ने लगायत औजारहरुको प्रयोग गरिनेछ।
सिन्धुपाल्चोक, बागलुङ, म्याग्दी, जाजरकोट, अछाम लगायत जिल्लामा बाढी-पहिरोबाट क्षति भएको ठाउँका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने काम शुरु भइसकेको पनि पोखरेलले बताए।