बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) नेपालले बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाएको छ। सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो।
बैठकपछि मंगलबार पत्रकारहरूसँग कुरा गर्दै जसपाका नेता गंगानारायण श्रेष्ठले संघीय परिषद्सँगै ८०१ सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको बताए। बैठकले समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए। त्यसबाहेक विधानलाई परिमार्जन गर्ने र विधानमा आधारित नियमावली समेत पारित गर्ने बैठकले निर्णय गरेको छ।
बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदाशिनता देखाएको भन्दै सरकारको आलोचना समेत गरेको छ। यस्तै, पार्टीका सांसदहरूले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरूप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ।
यसबाहेक कैलालीबाट निर्वाचित सांसद रमेश चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरू समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको छ।