दशैं मान्न घर फर्केका यात्रु सवार जीप उदयपुरमा दुर्घटना, पाँच जनाको मृत्यु
उदयपुरको कटारीमा गए राति यात्रु सवार जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
शनिबार राति एक बजेतिर बा २० च ७१७१ नम्बरको स्कार्पियो जीप सिद्धिचरण राजमार्ग अन्तर्गतको कटारी–घुर्मी सडकखण्डमा पर्ने भदौरे भीरमा जीप दुर्घटना हुँदा चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। घटनामा तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-९ का ३२ वर्षीय रामबहादुर सार्की, २६ वर्षीय कर्णबहादुर सार्की, ५५ वर्षीय खड्गबहादुर सार्की, ४० वर्षीया मणिमाया सार्की र उदयपुरको कटारी नगरपालिका– ८ का ३० वर्षीय महेश विष्ट रहेको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत दीपक दाहालले जानकारी दिए।
दशैं मनाउन भैरहवाबाट गाडी रिजर्भ गरेर ओखलढुंगा फर्किंदै गरेका यात्रु सवार जीप दुर्घटनामा परेको हो।
तीन जना घाइतेको विराटनगरमा उपचार भइरहेको छ।