२२ जना पुराना अग्रज महिलाहरूको ‘तस्वीर भिडिओ’ सार्वजनिक
मोतीदेवी स्मृति केन्द्रले अग्रज महिलाहरूको तस्वीर समावेश गरेर बनाइएको ‘नेपालका प्रेरणादायी महिलाहरू’ भिडिओ भाग–१ सार्वजनिक गरेको छ। शनिबार दिउँसो भर्चुअल कार्यक्रममार्फत् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भिडिओ सार्वजनिक गरे।
भिडिओमा राजनीतिक, साहित्य, समाजसेवा, आर्थिकलगायत विभिन्न क्षेत्रमा काम गरेका संघर्षशील र पुराना २२ जना महिलाको तस्वीर समावेश छ। करीब ३ मिनेटको भिडिओमा योगमाया न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य मध्येकी एक मोतीदेवी श्रेष्ठ, पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी, साहित्यकार पारिजात, सामाजिक अभियन्ता कनकलता बज्राचार्य, चन्द्रकान्ता मल्ल, लैंगिक विज्ञ चाँदनी जोशी, साधना र साहना प्रधान, शैलेजा आचार्य, स्नेहलता ओन श्रेष्ठ, नानीमैयाँ नकर्मी समेटिएका छन्।
पहिलो उपप्रधानमन्त्री शैलेजा आचार्य, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की, पहिलो पटक सगरमाथा आरोहण गर्ने पासाङ ल्हामु शेर्पा, पहिलो महिला टेम्पो चालक एवं उद्यमी लक्ष्मी शर्मा, साहित्यकार झमक कुमारी घिमिरे, पनि ‘प्रेरणादायी महिला’को रूपमा समावेश भएका छन्।
उनीहरूको फोटोसँगै नेपाली तथा अंग्रेजी भाषामा नाम राखिएको छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले जुनसुकै क्षेत्रमा पनि संघर्ष र योगदान दिएका सक्षम महिलाहरू पर्याप्त भएकाले हरेक क्षेत्रले नेतृत्वमा स्थान दिन कन्जुस्याईं गर्न नहुने बताए। यस्तै, कांग्रेस नेता गोपालमान श्रेष्ठले नेतृत्वमा गर्न सक्ने सक्षम धेरै भन्दा धेरै महिलाहरूको संघर्ष र सफलतालाई बाहिर ल्याउने काम प्रशंसनीय भएको भन्दै आगामी दिनमा पनि यस्तो कामको निरन्तरताका लागि सुझाव दिए।
केन्द्रकी अध्यक्ष तथा नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका कतिपय पुराना महिलाहरूलाई नयाँ पुस्ताले देख्ने अवस्था नै नभएकाले भएका तस्वीरहरू संकलन गरेर तस्वीर भिडिओ बनाइएको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताइन्।
उनले यस्ता प्रेरणादायी महिलाहरूको जीवनी केन्द्रसँग सुरक्षित रहेकाले कसैले पढ्न चाहेमा पुस्तक उपलब्ध गराउने बताएकी छिन्। केन्द्रले झण्डै एक दशकदेखि हरेक वर्ष प्रेरणादायी महिलाहरूको जीवन संघर्ष र सफलतालाई समेटेर ‘प्रेरणादायी महिलाहरू’ नामक पुस्तक प्रकाशन गर्दै आएको छ।
सोही पुस्तकमा समेटिएका मध्ये २२ जनाको तस्वीर भिडिओमा समावेश गरिएको केन्द्रले जनाएको छ।