२८औं दिनमा डा. केसीले तोडे अनशन
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २८ दिन लामो अनशन तोडेका छन्। डा. केसी र सरकारी वार्ता टोलीबीच शनिबार मध्यरात भएको ८ बुँदे सहमतिपछि डा. केसीले आइतबार बिहान करीब १० बजे २८ दिन लामो अनशन तोडेका हुन्।
उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका सफाईका कर्मचारी विकास नेपालीले जुस खुवाएर अनशन तोडाएका हुन्। डा. केसी र सरकारी वार्ता टोलीबीच शनिबार मध्यरात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एंव जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिने लगायतका विषयमा सहमति भएको थियो।
सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेज भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको चरणमा रहेकाले सरकारी मेडिकल कलेज स्थापना गरी सञ्चालनका लागि आवश्यक कानूनी व्यवस्था अघि बढाउने र आउँदो १० फागुन २०८० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम शुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारित समिति तथा कार्यदलले दिएको सुझाव अनुरुप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने लगायतका आठ बुँदामा सहमति भएको थियो।
यो केसीको १९औं अनशन थियो। उनले चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित् बाबिरा मष्ट मन्दिरबाट अनशन शुरू गरेका थिए।