डा. केसी पक्ष र सरकारी टोलीबीचको वार्ता विना निश्कर्ष टुङ्गियो
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच सिहंदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता विना टुङ्गिएको छ।
शुक्रबार राति ९ बजेदेखि करिब दुई घण्टा लामो वार्ता विना निश्कर्ष टुङ्गिएको डा केसीका पक्षबाट वार्तामा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले हिमालखबरलाई बताए।
“बिहिबार साँझ सरकारी वार्ता टोलीसँग जुन समझदारी बनेको थियो, त्यसबाट सरकारपछि हट्यो,” उनले भने, “यो सरकार पक्षबाट भएको गैरजिम्मेवारीपन र वार्तालाई असफल बनाउने काम हो।”
उनले के कुरामा असहमति भएको भन्ने कुरा खुलाउन चाहेनन्।
बिहीवार राति अवेरसम्म चलेको वार्ता दुवै पक्षले 'आन्तरिक गृहकार्य गर्नुपर्ने' भन्दै स्थगित भएको थियो ।
वार्तापछि प्रधानमन्त्री लगायतका उच्च अधिकारीहरुसँग भेटेर वार्तामार्फत् भएका सहमतिका कुराबारे जानकारी गराएका थिए। तर उक्त भेटपछि हिजो भएको सहमति भन्दा विपरित कुरा आएका कारण वार्ता असफल भएको अधिवक्ता अर्याल बताउँछन्।
वार्तापछि आयोजित पत्रकार सम्मेलनमार्फत् बोल्दै डा. केसीका तर्फबाट वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले शिक्षा मन्त्री सम्पर्क बिहीन भएको, वार्तामार्फत् भएका सफलतालाई निश्कर्षमा पुर्याउन शिक्षा मन्त्रीले थप पहल नगरेको र वार्ता भाड्न शिक्षामन्त्री नै जिम्मेवार भएको बताएका छन्।
डा. क्षेत्रीले डा. केसीको अनशनको पक्षमा सडकमा भइरहेको आन्दोलन शनिबारदेखि निरन्तर जारी राख्ने बताएका छन्। डा. केसीका माग पुरा गर्न र उनको जीवन रक्षाका लागि लागि भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मी र नागरिकहरुले देशका विभिन्न ठाउँमा २१ असोजदेखि आन्दोेलन शुरु गरेका थिए ।
शुक्रबार रातीको वार्ता असफल भएपछि शनिवार चिकित्सकहरुले सडक आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने तयारी गरेको डा. जीवन क्षेत्रीले बताएका छन् ।
डा. केसी चिकित्सा शिक्षा सुधार लगायतका ६ बुँदे माग राखेर २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित् बाबिरामष्ट मन्दिरबाट अनशन शुरू गरेका थिए। १९ औँ अनशनमा रहेका उनी शुक्रबार अनशन बसेको २६ दिन पुगेको छ।
डा. केसीको स्वास्थ्य जाँच गर्न बनाइएको मेडिकल टोलीका संयोजक प्रा.डा. सुवासप्रसाद आचार्यद्धारा शुक्रबार जारी मेडिकल बुलेटिन अनुसार उनलाई श्वास फेर्न समस्या भइरहेको र शरीरमा निमोनियाका लक्षणहरू देखिन थालेको बताइएको छ।