अनशनरत डा. केसीलाई श्वास फेर्न समस्या, निमोनियाका लक्षण देखिन थाले
चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई श्वास फेर्न गाह्रो हुन थालेको छ भने उनको शरीरमा निमोनियाका लक्षणहरू देखिन थालेका छन्।
डा. केसीको स्वास्थ्य जाँच गर्न बनाइएको मेडिकल टोलीका संयोजक प्रा.डा. सुवासप्रसाद आचार्यद्धारा शुक्रबार जारी मेडिकल बुलेटिन अनुसार उनलाई श्वास फेर्न समस्या भइरहेको र शरीरमा निमोनियाका लक्षणहरू देखिन थालेको बताइएको छ।
उक्त बुलेटिन अनुसार डा.केसीको मुटुको चाल असन्तुलित भइरहेको छ र रक्त चाप पनि घट्दै गएकाले मुटुको चाल रोकिनसक्ने जोखिम रहेको छ। सामान्य व्यक्तिमा अक्सिजनको मात्रा ९६–१०० हुने गरेकामा उनको शरीरमा अक्सिजनको मात्रा घटेर ८६–८७ मा पुगेको छ। उनको शरीरमा अक्सिजनको मात्रा घटेर श्वास फेर्न समस्या भइरहेकाले उनलाई बाहिरबाट अक्सिजन दिने क्रम बढाइएको छ।
डा. केसीको शरीरमा सेता रक्त कोशिकाहरूको मात्रा निकै कम भएकाले शुक्रबार उनको छातीको एक्सरे र सिटी स्क्यान गरिएको छ।
उनले रगत जाँच गर्न नमानेका कारण शुक्रबार शरीरमा रक्त कोषिकाहरूको अवस्था कस्तो छ भनेर थाहा हुन नसकेको उनका सहयोगी डा. तोषिमा कार्कीले बताइन्। बिहीबारको रगत जाँच अनुसार उनको शरीरमा चिनिको मात्रा निकै कम रहेको देखिएको थियो।
२६ औँ दिनदेखि अनशनरत उनको शरीरमा अत्यावश्यकीय तत्व सोडियम, पोटासियम, म्यानेसियम, फोस्फेटको मात्रा निकै नै कम भएकाले संक्रमणको जोखिम हुनसक्ने सम्भावना रहेको डा. कार्कीले बताइन्। “डा.केसीलाई उनको इच्छाविपरीत इर्मेजेन्सीका औषधीहरू चलाउनुपर्ने अवस्था आउनसक्छ”, उनले भनिन्।
उनलाई अहिले नर्मल स्लाईन भने दिइराखिएको छ। डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले उनको ज्यान जान सक्ने जोखिम रहेको चिकित्सकहरू बताउँछन्।
उनलाई स्वास्थ्य अनवस्थाबारे जानकारी गराए पनि इर्मेजेन्सी औषधी लिन मानेका छैनन्, भने चिकित्सकले पटक–पटक आग्रह गर्दा पनि आईभर्ना भएर उपचार गर्न मानेका छैनन् ।
यसैबीच, डा. केसी पक्ष र सरकारबीच उनका माग सम्बोेधन गर्न शुक्रबार बिहान बस्ने भनिएको वार्ता अहिले साँझ चार बजेसम्म शुरु हुन सकेको छैन।
डा. केसी पक्षका वार्ता टोली सदस्यहरूका अनुसार बिहीवार बसेको वार्ता सकारात्मक बनेकाले आज हुने वार्ताबाट सहमति जुट्ने सम्भावना अत्याधिक रहेको छ।