कोरोना जोखिम नियन्त्रण गर्न भारतीय सीमाक्षेत्रमा खटाइएका सशस्त्र प्रहरी फर्काइँदै
कोरोनाभाइरसको संक्रमण जोखिम न्यूनीकरण गर्ने गरी सीमाक्षेत्रमा आवतजावत रोक्न भारतीय सीमामा खटाइएका सशस्त्र प्रहरीलाई फर्काउन शुरु गरिएको छ।
भारतसँग सीमा जोडिएको खुला स्थानबाट हुने आवतजावत रोक्न गएको चैतदेखि नेपाल-भारतको सीमाक्षेत्रमा १०० देखि २०० मिटरको फरकमा अस्थायी पोष्ट खडा गरेर सशस्त्र प्रहरी खटाइएको थियो। भारतबाट मानिसहरु नेपाल आउने क्रम रोकिएको र नेपालमै कोरोना संक्रमण तीव्र फैलिएपछि विभिन्न स्थानमा खटाइएका सशस्त्र प्रहरीलाई साविककै दरबन्दीमा फर्काउन थालिएको हो।
खुला सीमाबाट हुने अनियन्त्रित आवतजावत रोक्न सशस्त्र प्रहरीले पहाडी क्षेत्र र अन्य ठाउँका गरी करीब २० हजार जनशक्ति परिचालन गरेको थियो।
सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले बोर्डर आउट पोष्ट (बीओपी) को संख्या थप गरिएको र बीओपीबाटै हेर्ने गरी अस्थायी पोष्ट हटाइएको बताए।
“सीमाबाट सशस्त्र प्रहरीलाई हटाइएको होइन, बीओपी थप गरी त्यहींबाट हेर्ने व्यवस्था मिलाइएको हो", अर्यालले भने, "पहिला विभिन्न ठाउँबाट लगिएको थियो, अहिले सिमानामा नै पाँच हजार दरबन्दी थपिएको छ।”
अर्यालका अनुसार, भारतसँग सिमाना जोडिएका जिल्लाहरुमा आठ वटा गण थपिएको छ भने बीओपीको संख्या १०६ वटाबाट बढाएर १६३ पुर्याइएको छ।