चामलको बोरामा लुकाएर ल्याइएको लागूपदार्थ बरामद
लागूपदार्थ कारोबारीहरुले भारतीय बजारबाट लागूपदार्थ ल्याउने क्रममा सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुको आँखा छल्न विभिन्न विधि अपनाउने गरेका छन्।
यसै क्रममा चामलको बोराभित्र लागूपदार्थ लुकाएर ल्याइएको भेटिएको छ। २० असोजमा भारतबाट एक बोरा चामल ल्याउँदै गरेको एउटा स्कुटरलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-२ स्थित फुलपुरमा रहेको सशस्त्र प्रहरीले रोक्न खोज्यो। तर, चालक स्कुटर छोडेर भारततिर भागे।
प्रहरीलाई शंका लागेर बोरा खोलेर हेर्दा विभिन्न लागूपदार्थ भेटिए। सशस्त्र प्रहरी गण रुपन्देहीका अनुसार, क्लोरफेनिरामाइन मलेटो १०० मिलिलिटरको १४४ बोतल, नाइट्राजेपम ट्याब्लेट्स ३०० वटा र १४४ क्याब हाइड्रोक्लोराइड बरामद गरिएको छ।
सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल यो घटनाले लागूपदार्थ ओसारपसारमा नयाँ विधिको प्रयोग हुन थालेको पुष्टि भएको बताउँछन्।