खेलाडी कल्याणकारी कोषले चार खेलाडी गर्यो आर्थिक सहयोग
राष्ट्रिय र पूर्वराष्ट्रिय खेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ। आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो।
एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई ४ लाख रूपैयाँ प्रदान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बताए। एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रूपैयाँ प्रदान गरिएको छ। क्यान्सर रोगबाट पीडित राईको गएको १९ साउनमा निधन भएको थियो।
उक्त रकम राईकी पत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको हो। राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन्। सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ।
सदस्य सचिव सिलवालले पूर्व तथा वर्तमा खेलाडी र प्रशिक्षकहरूको बीमा गर्न सके सहयोगबाट बञ्चित हुने अवस्था नआउने बताए। उपचार रकम जुटाउन सक्नेलाई समेत राज्य र संघको तर्फबाट भएकाले सहयोगले सम्मान हुने उनले बताए।
आइतबार नै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्वखेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रूपैयाँ प्रदान गरिएको छ। तीनै जनालाई घुडाको समस्या छ। मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन्।
राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष सिलवालले उनीहरूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। २०६८ सालमा स्थापना भएको खेलाडी कल्याणकारी कोषले समस्यामा परेका खेलाडीलाई सहयोग गर्दै आएको छ।
यसअघि कोषले २०७२ सालको महाभूकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान १÷१ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो। भूकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको थियो।