आईपीएल: पञ्जाब विरुद्ध मुम्बई इन्डियन्स विजयी
संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा खेलाइएको इन्डियन प्रिमियर लिग (आईपीएल) को १३औं प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले किंग्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ। मुम्बई इन्डियन्सले १ सय ९१ रनको चुनौती दिएकोमा जवाफी ब्याटिङमा उत्रेको किंग्स इलेभेन पञ्जाबले आठ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो। पञ्जावले लगातार दोस्रो खेलमा पराजय भोग्नुपरेको हो।
पञ्जावको बलिङ र ब्याटिङ दुवै फिका रह्यो। टीमका लागि मयंक अग्रवालले २५ रन बनाए भने करुण नायर शून्य रनमै पेभेलियन फर्किए। यसपछि आएका केएल राहुलले पनि १७ रन मात्र बनाउन सके। निकोलस पूरन अर्धशतकतर्फ बढिरहँदा ४४ रनमा आउट भए। निकोलस र ग्लेन मैक्सवेल मिलेर १३औं ओभरमा टीमलाई ९९ रनमा बढाएका थिए। मैक्सवेल व्यक्तिगत ११ रनमा समेटिएका थिए।
यस्तै, सरफराज खान र जिमी नीशमले ७/७ रन, मोहम्मद शमीले २ रन र रवि बिस्नोईले १ रन जोडे।
त्यसअघि मुम्बईले चार विकेटको क्षतिमा १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टीमका लागि कप्तान रोहित शर्माले सबैभन्दा बढी ७० रन बनाए। यस्तै, किरोन पोलार्डले २० बलमा ४७ र हार्दिक पान्ड्याले ३० रनको पारी खेले। मुम्बईले अन्तिमको पाँच ओभरमै ८९ रन जोडेको थियो। पोलार्ड 'म्यान अफ द म्याच' पनि घोषित भए।
यो म्याचसँगै मुम्बईका कप्तान रोहितले आईपीएलमा ५ हजार रन पूरा गरे। उनी आईपीएलमा ५ हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन्।
उनी अगाडि विराट कोहलीले १ सय ७८ म्याचमा औसत ३७.६८ रन बनाउँदै ५ हजार ४ सय २६ रन जोडेका छन् भने सुरेश रैनाले १ सय ९३ म्याचमा ५ हजार ३ सय ६८ रन बनाएका छन्।