उपेन्द्र यादव भन्छन्- ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनायो
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धरासायी बनाउँदै लगेको बताएका छन्।
आज काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताएका हुन्।
कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफू पनि राजनीतिक रुपमा धरासायी बन्दै गएको उनले बताए। "भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ। यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला", उनले भने।
अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए। जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए। लोक समाजवाद (समाजवाद, संघियता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्ने तर्फ अगाडी बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए।