सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. आफूलाई अजेय नठानौं, कोरोना रुघा होइन, हत्यारा हो !
नेपाल एअरलाइन्सको एअरबस ३३० का वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण भएपछि हाल स्टार अस्पताल ललितपुरमा उपचाररत छन्। दुई हप्ता अगाडि रियादबाट नेपाली नागरिक स्वदेश ल्याउने उडान भरेपछि उनलाई दक्षिण सुडानमा शान्तिसेनामा रहेका नेपाली सेनालाई फिर्ता ल्याउने जिम्मेवारी पाएका उनलाई लगत्तै पीसीआर गर्दा कोरोना देखिएको थियो। कोरोना भाइरसको संक्रमणबारे अनेक टिकाटिप्पणी भइरहेका बेला वरिष्ठ क्याप्टेन लामाले बुधबार बिहान आफ्नो अस्पतालको शय्याबाट बताएका संक्रमित अवस्थाको अनुभव उनकै शब्दमा ।
२. निगमको भाग खोसेर हिमालय एअरलाइन्सलाई दिइयो ‘ग्राउन्ड ह्यान्डलिङ’ को अनुमति, निगमलाई वार्षिक एक अर्ब घाटा
सरकारले निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एअरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ को अनुमति दिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ असोजको महानिर्देशक स्तरीय निर्णय गरेर हिमालयलाई आफैं ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालनको अनुमति दिएको हो। प्राधिकरणले वायुयानहरुको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार सातामा ३५ वटा उडान गर्ने हिमालयलाई उक्त अनुमति दिएको दाबी गरेको छ।
३. यसकारण असफल हुँदैछन् दाताको सहायतामा सञ्चालित अर्बौंका परियोजना
विपन्न नागरिकको आर्थिक उत्थानका लागि विश्व ब्यांकको सहायतामा झन्डै डेढ दशक गरीबी निवारण कोष मार्फत करीब रु.२९ अर्ब खर्च गरियो। यसको एकतिहाइ रकम प्रशासनिक र नियमित प्रकृतिका काममा सकियो भने बाँकी रकमको सदुपयोगका विषयमा छानबिन गर्ने सरकारी निकायहरुले नै प्रश्न उठाउँदै आएका छन्। दाताको सहायतामा सञ्चालित परियोजनाहरुको लाभ लक्षित समूहमा नपुग्दै बीचैमा चुहिंदा यस्ता परियोजना निष्प्रभावी बनिरहेका छन्। परिणाम र प्रतिफल नदिए पनि यस्तै परियोजनामा रकम छर्ने क्रम जारी छ। रमेश कुमारको रिपोर्ट।
४. नागरिक अधिकारको बेहाल छ, मानवअधिकार आयोगमा रमिता छ
मानवअधिकार आयोगका अध्यक्ष शर्मा र सदस्यहरू प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालको ६ वर्षे पदावधि आउँदो २ कात्तिकमा पूरा हुँदैछ। मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि विश्वभरका ‘क’ वर्गमा पर्ने मानवअधिकार आयोगको सूचीमा पर्दै आएको नेपालको मानवअधिकार आयोग आफैंभित्र लागेको धमिराले कतिसम्म पङ्गु बनेको छ भन्ने पछिल्ला दुई(तीन महीनाका घटनाक्रमले देखाउँछन्। पदाधिकारीबीचको इगो र गुटबन्दीले लथालिङ्ग बनेको राष्ट्रिय मानवअधिकार आयोग महामारीमा पिल्सिएका नागरिकको बेहाल र गैरन्यायिक हत्यालगायत मानवअधिकारका गम्भीर उल्लंघनका घटनाको अनुसन्धानमा बेपरवाह जस्तै देखिएको छ। तुफान न्यौपानेको रिपोर्ट।
५. किसानका नाममा अर्को लूट : रु. ५ अर्बको परियोजनामा दुईतिहाइ रकम गैरकिसानले हत्याए, किसानलाई रु.१ अर्ब मात्र
पश्चिम पहाडी जिल्लाका किसानको जीवनस्तर सुधार्न सञ्चालित "कृषि तथा खाद्य सुरक्षा आयोजना"बाट किसानको नाममा गैरकिसानले अधिकांश लाभ हत्याएको देखिएको छ। जम्मा रु.५ अर्ब १७ करोड खर्च भएको आयोजनाबाट किसानलाई अनुदान भनी रु.१ अर्ब १८ करोड बाँडिंदा कुल खर्चको करीब ४७ प्रतिशत तालीम, गोष्ठी र परामर्श जस्ता काममा उडाइएको थियो। रमेश कुमारको रिपोर्ट।
६. के चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको हो ? यस्तो छ लिमी भ्यालीको कथा
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको चीनसँगको उत्तरी सीमामा अवस्थित लिमी उपत्यकामा पर्ने लोलुङजोङको भूमि चिनियाँ पक्षले अतिक्रमण गरेको भन्ने खबर अहिले चर्चामा छ। राष्ट्रिय सञ्चारमाध्यम मात्र होइन, भारतीय सञ्चारमाध्यममा समेत हुम्लाको लोलुङजोङले ठूलो स्थान पाएको छ। सरसर्ती हेर्दा चिनियाँ पक्षले निर्माण गरेका भवन नाम्खा गाउँपालिकाको भू–भागमै पर्ने देखिए पनि नेपाल र चीनबीचको ११ नम्बर सीमास्तम्भ नभेटिएकाले विवादित भूमिको यथार्थ यकिन गर्न नसकिएको नेपाली सुरक्षा अधिकृतहरूको टोलीले जनाएको छ। नवराज महत्तराको रिपोर्ट।
साथमा विकसित घटनाक्रमहरू:
७. सहारा घरः मानसिक रोगीलाई मायाको मल्हम
कैलालीको बर्दगोरिया गाउँपालिकामा सञ्चालित ‘सहारा घर’ ले सडकमा भेटिएका असहाय मानसिक रोगीहरूलाई प्रेमपूर्ण हेरचाह र उपचारबाट नयाँ जीवन मात्र दिएको छैन, परिचय गुमाएकालाई नयाँ नाम पनि दिएको छ। यो ‘सहारा घर’ कैलालीको बर्दगोरिया गाउँपालिकाको चुरे फेदीमा रहेको धार्मिक पर्यटक वनको पूर्वी कुनामा अवस्थित छ। सडकमा भेटिएका मानसिक रोगीलाई सहारा दिने उद्देश्यले बलबहादुर विष्टले पाँच वर्षयता यो संस्था सञ्चालन गरिरहेका छन्। उन्नती चौधरीको रिपोर्ट।
८. अनशनरत डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याइयो, जबर्जस्ती गरेको भन्दै उपचार गर्न अस्वीकार
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ। डा। केसीका सहयोगी प्रितम सुवेदीले उनलाई प्रहरीले जबर्जस्ती जहाजमा राखेर जुम्लाबाट काठमाडौं ल्याएको बताएका छन्। हाल डा. केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। उनले आफ्ना माग पूरा नभएसम्म अनसन जारी राख्ने बताएका छन्।
साथमा
९. नेकपालाई प्रश्न- जनमतको अर्थ नहुने भए निर्वाचन केका लागि ?
प्रतिनिधिसभा निर्वाचनमा पराजित उम्मेदवारलाई घुमाउरो बाटोबाट संघीय संसदमा पुर्याएपछि जनमतको अपमान गरेको भन्दै आलोचना खेपिरहेको नेकपा तिनै व्यक्तिलाई मन्त्री बनाउने तारतम्यमा जुटेपछि प्रश्न उठेको छ– जनमतबाट अस्वीकृत व्यक्ति नै विधायिका र शासन सञ्चालनमा पुग्ने हो भने निर्वाचन केका लागि ? रामेश्वर बोहरा र तुफान न्यौपानेको सामग्री।
साथमा
१०.‘बालबालिकालाई दूधमा पानी मिसाएर, चामल पनि ग्राममा तौलेर दिइँदो रहेछ’
२०२१ सालमा स्थापना भएको नेपाल बाल संगठनभित्रको सुशासन र पारदर्शिताका विषयमा लामो समयदेखि अनेक प्रश्न उठे। कतिसम्म भने बाल संगठनबाटै बालबालिका बेचबिखन हुने गरेको घटना समेत सार्वजनिक भए। बाल संगठनभित्रको विकृति रोक्न भन्दै सरकारले केही समय पहिले रीता सिंह वैद्य नेतृत्वमा रहेको कार्यसमिति भंग गरेर अध्यक्षसहित नयाँ पदाधिकारी नियुक्त गर्यो। नयाँ कार्यसमितिले काम थालेकै करीब डेढ महीना भइसकेको छ। नयाँ कार्यसमितिले गरिरहेको काम र बाल संगठनको अवस्थाबारे अध्यक्ष विद्या न्यौपानेसँग गरिएको कुराकानीको सारसंक्षेप ।
११. बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला
नेपालको इतिहास लेखनमा नेपाली नै प्राधिकार बन्ने, लेखिएका कतिपय गलत इतिहास सच्याउने अभियानका साथ ५ असोज २००९ सालमा नयराज पन्तले शुरु गरेको संशोधन मण्डलको ६९ औं वार्षिकोत्सवका अवसरमा गएको ५ असोजमा हिमालखबर ले विशेष सामग्री प्रस्तुत गर्यो । संशोधन मण्डलको अवदान र संश्लेषणमा केन्द्रीत यी सामग्रीहरूले कम्तिमा आफ्नै देशको इतिहास पढन विदेशी अध्येताको भर पर्नुपर्ने अवस्थाबाट स्वनिर्भरतर्फ लम्किदैं गरेको नेपाली मानसको झल्को प्रस्तुत गर्ने प्रयत्न गरेको छ ।
१२.नेपालका ब्यांक र कम्पनीमार्फत रू. ३५ अर्बको शंकास्पद धन ओसारपसार
अमेरिकी सरकारको वित्तीय निगरानी संयन्त्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातबाट देखियो — नेपालका ९ वटा ब्यांक र १० वटा व्यापारिक कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन विभिन्न मुलुकमा ओसारपसार भएको छ । खोज पत्रकारिता केन्द्र का लागि शिव गाउँले, कृष्ण आचार्य र रामु सापकोटाको सामग्री।
१३. गरीबी घटाउन नगद अनुदान : हाम्रा लागि कति सम्भव ?
विपन्न परिवारहरुलाई सोझै नगद हस्तान्तरण गर्ने उपायलाई गरीबीको दलदलबाट उनीहरूलाई बाहिर निकाल्ने एउटा प्रमुख औजार मानिन्छ। यस्तो अनुदानले गरीब नागरिकको तत्कालको खाँचो टार्ने र दीर्घकालीन क्षमता विकास गर्ने तर्क अर्थशास्त्रीहरुले राख्दै आएका छन्। विपन्न परिवारलाई गरीबीको दलदलबाट बाहिर निकाल्ने बलियो औजार हो– नगद अनुदान। तर, लक्षित समूहको पहिचान र वितरण प्रणालीको सुनिश्चितता बिना यसले परिणाम ल्याउँदैन। रमेश कुमारको रिपोर्ट।
१४. प्रहरी संगठनमा बालुवाटारको कर्के नजर
२०७७ साउन मसान्तसम्म कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणमा संघीय सञ्चित कोषबाट रु.११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च गरिएको विवरण सरकारले सार्वजनिक गरेको छ। यसमध्ये संघीय सरकार अन्तर्गत भएको खर्च रु.५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार छ भने बाँकी स्थानीय सरकारमार्फत खर्च गरिएको उल्लेख छ। कोरोनाभाइरस संक्रमण महामारी विरुद्ध लड्न बजेट दिंदा होस् वा संगठन संरचनाभित्र दरबन्दी सिर्जना लगायतका काम गर्दा, सरकार अहिले नेपाल प्रहरीलाई कस्नुपर्छ भन्ने मनोविज्ञानमा देखिन्छ। रामेश्वर बोहराको खोज सामग्री।