हिमाल आरोहणका लागि बहराइनी राजपरिवारका सदस्यको टोली लुक्ला प्रस्थान
पर्वतारोहणका लागि नेपाल आएको बहराइनी राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितकाे टोली खुम्बु क्षेत्रकाे लाेबुचे हिमाल आराेहणका निम्ति लुक्ला प्रस्थान गरेको छ।
काठमाडौंबाट लुक्लाको यात्रा बुधबार नै तय भए पनि खराब मौसमका कारण रोकिएका कारण विहीबार बिहान मात्रै भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार, उक्त टोली बिहान ९ः४५ बजे लुक्लातर्फ गएको हो।
लुक्ला गएको यो टोली अब खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि प्रस्थान गर्ने आरोहण दलका संयोजक सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिए। भ्रमण टोलीमा १८ सदस्य रहेकोमा शेख मोहम्मद र उनको सुरक्षा टोलीका तीन जना हेलिकप्टरबाट र बाँकी सदस्य जहाजबाट लुक्ला गएको पनि उनले बताए।
आरोहण टोलीलाई सहयोग गर्ने, गाइड, पोर्टर, सहयोगीसहित एक सय जनालाई खटाइएको शेर्पाले जानकारी दिए। नेपालमा आएको यो उच्चपदस्थ विदेशी टोलीलाई आवश्यक सेवा-सुविधा सबै दिनुपर्ने भएकाले ठूलै समूह परिचालन गरिएको उनले बताए।
टोलीले लोबुचे आरोहण गरेर फर्केपछि गोरखाको मनास्लु पनि आरोहण गर्ने भएको छ।
३१ भदौमा काठमाडौं आएको यो टोली एक साता काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा क्वारेन्टिनमा बसेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यो टाेलीलाई मंगलबार मात्रै आरोहण अनुमति दिएको हो।