वीर अस्पताल र केन्द्रीय कारागारको दाबी- 'कैदीबन्दीको मृत्यु शंकास्पद होइन'
कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रीय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टिकरण दिएका छन्।
३ असोज राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रीय कारागारले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन्। घटनाका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले तीन दिनदेखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरू रहेको, सुन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको बताए।
शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरू देखिएको उनले बताउए। सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सीसीटिभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको र बाँकी पोष्टमार्टम रिपोर्टपछि थाहा हुने बताए।
वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पुर्याइएका जैसवाल जीवित रहेको कुनै पनि लक्षण नरहेको बताए। अस्पतालमा कुनै पनि प्रकारको उपचार नभएपनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार पीसीआर परीक्षण गरिएको बताए। वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मि मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको बताए। बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सहि नभएको उनले बताए।
अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरू देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निकालेको र मुख र नाकबाट रगत बगेको देखिएको बताए। भित्रि समस्या के थियो भन्ने कुरा पोष्टमार्टमपछि थाहा हुने उनले बताए।