रिपोर्ट सोमबार, चैत १८, २०७५

भारतमा सामान्य हुरी नेपालमा कसरी शक्तिशाली बन्यो ?

मुकेश पोखरेल

१७ चैत साँझ चलेको हावाहुरीका कारण पर्सा र बारामा २७ जनाको ज्यान गएको छ भने करीब ५०० जना घाइते भएका छन् ।

तस्वीर: जियालाल साह

साँझ परेसँगै चल्न थालेको हुरीले बाराको प्रसौनी, सुवर्ण र महागढीमाई तथा पर्साको वीरगञ्ज वरिपरि ठूलो क्षति पुर्‍यायो ।

प्रि–मनसुनको समयमा हावाहुरी चल्नु सामान्य भएपनि यति ठूलो क्षति पुर्‍याउने गरीको हुरी कसरी चल्यो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार भारतको छत्तीसगढ र मध्यप्रदेशमा न्यूनचापीय रेखा विकसित भएर नेपाल प्रवेश गरेको थियो ।

उनी भन्छिन्– “पश्चिमी वायु, स्थानीय वायु र न्यूनचापीय रेखा बारा र पर्सा आसपासमा भेटिएपछि यसले विनाशकारी हुरीको रूप लियो ।” फरक वायुको भेटपछि बनेको भुमरीले क्षति गरेको हुनसक्ने उनको अनुमान छ ।

जल तथा ऊर्जा आयोगका सहसचिव एवम् जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक ऋषिराम शर्मा भारतमा उक्त हुरीको गति सामान्य रहेको र नेपाल प्रवेश गरेसँगै भुमरीमा परिणत भएर बहन थालेपछि शक्तिशाली बनेको बताउँछन् ।

पश्चिमी वायु, स्थानीय वायु र न्यूनचापीय रेखा भेटिएपछि बारा, पर्सामा उक्त हुरी प्रतिघण्टा ८० किमीको गतिमा बहेको उनको अनुमान छ । त्यसको बारेमा अध्ययन भइरहेको र तथ्याङ्क आएपछि मात्रै यकिन जानकारी आउने उनको भनाइ छ ।

प्रतिघण्टा ४० किमी भन्दा बढी वेग भएको हावाले क्षति गर्ने मौसमविद्हरू बताउँछन् ।

भारतले सामान्य हावाहुरीको पूर्वानुमान सार्वजनिक गरेको भएपनि यति ठूलो हावाहुरीको पूर्वानुमान गरेको थिएन । तर, नेपालमा मौसमी राडार (हावाको गति नाप्ने यन्त्र) को अभावमा पूर्वानुमान गर्न नसकिएको शर्मा बताउँछन् ।

विश्व ब्याङ्कको सहयोगमा सुर्खेतमा हावाहुरीको गति र पूर्वानुमान गर्न सकिने मौसमी राडार स्थापना गरिएको छ । तर, आवश्यक जनशक्ति अभावमा सञ्चालन हुन सकेको छैन ।

उक्त राडार सञ्चालनमा रहेको भए १५० किलोमिटर दूरी आसपासको जानकारी लिएर पूर्व सूचना प्रवाह गर्न सकिने थियो ।

अहिले पाल्पा र उदयपुरमा दुई राडार निर्माणका क्रममा छन् । सुर्खेत र यी दुवै राडार सञ्चालनमा आए मोटामोटी रूपमा देशभरको तथ्यांक संकलन गर्न सकिने शर्माको बुझाइ छ ।

राडार सञ्चालनको लागि २४ सै घण्टा जनशक्ति आवश्यक पर्छ । जडान सकिएको भएपनि जनशक्तिको अभावका कारण सुर्खेतको राडार सञ्चालनमा छैन ।

मौसमी राडारको सहयोगले कम्तिमा पनि आधा घण्टा पहिला सूचना सार्वजनिक गर्न सकिने शर्मा बताउँछन् ।

यसअघि २०४४ सालमा दशरथ रंगशालामा खेल भइरहेका बेला आएको हावाहुरीसँगै भागदौड मच्चिदा ९३ जनाको ज्यान गएको थियो । शर्मा त्यतिबेलाको भन्दा आइतबारको हुरी बढी शक्तिशाली भएको बताउँछन् ।

प्राकृतिक प्रकोपमा मानवीय क्रियाकलाप नै धनजनको क्षति हुने कारक बन्ने गरेका छन् । “विपत् निम्ताउन मानवीय क्रियाकलाप सहयोगी भइदिन्छन् ।” उनी भन्छन्, “यस्ता विपत् रोक्न नसके पनि मानवीय क्रियाकलाप र प्रविधिको प्रयोगले क्षति कम गर्न भने सकिन्छ ।”

पढ्नुहाेस्:

ध्यानै छैन विपत्‌को जोखिम घटाउन

 

प्रतिकृया दिनुहोस