चीनमा नयाँ ब्याक्टिरियाको संक्रमणबाट हजारौँ मानिस बिरामी
चीनको गान्सु प्रान्तको लानजोउ शहरमा ब्याक्टिरियाको संक्रमण फैलिएको छ। संक्रमणबाट हजारौँ व्यक्ति बिरामी भएपछि अन्यत्र पनि फैलन सक्ने आशंका गरिएको छ।
ब्रुसेलोसिस नामको ब्याक्टिरियाको संक्रमण फैलिदा अहिलेसम्म तीन हजार २४५ जना बिरामी भइसकेको त्यहाँको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। सोमबार २१ हजारभन्दा बढी व्यक्तिको परीक्षण गरिएको थियो। तीमध्ये शुरुमा चार हजार ६४६ जनाको नतिजा पोजिटिभ देखिएको थियो। पछि त्यो संख्या तीन हजार २४५ मा सीमित भएको जनाइएको छ।
यो संख्या अरु बढ्न सक्ने जनाइएको छ। संक्रमित व्यक्तिलाई ज्वरो आउने र मांसपेशी दुख्ने लक्षण देखिएको छ। त्यस्तै थकान महसुस हुने, पसिना आउने, भोक नलाग्ने हुन्छ। टाउको दुख्ने र तौल घट्ने पनि हुन्छ।
संक्रमितलाई लक्षण देखापर्न एक सातादेखि दुई महीनासम्म लाग्नसक्छ। तर, सामान्यतया दुईदेखि चार हप्तासम्ममा लक्षण देखिने गरेको छ।
यो ब्याक्टिरियाको संक्रमण मुख्यगरी गाई, भेडा, बाख्रा, सुगुर र कुकुरलाई हुन्छ। मान्छे संक्रमित जनावरको सम्पर्कमा पुगे मात्र सर्ने जनाइएको छ। संक्रमित पशुबाट पाइने आहारा खाँदा, पिउँदा र हावामा फैलिएका ब्याक्टिरिया श्वास लिँदा मानिसमा सर्छ।
यो ब्याक्टिरियाबाट संक्रमित व्यक्तिको उपचार संभव भएको पनि जनाइएको छ। तर, बिरामीले एकदेखि डेढ महीनासम्म औषधि सेवन गर्नुपर्छ।
-एजेन्सीहरुको सयोगमा