विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नियमित उडान संख्या बढाउन राजदूतहरूको सुझाव
विभिन्न देशका राजदूतहरूले कोरोना संक्रमणको जोखिमका कारण अलपत्र नेपाली नागरिकहरूको उद्धारका लागि नियमित उडान संख्या बढाउन सरकारलाई सुझाव दिएका छन।
कोरोना संक्रमणका कारण उडान बन्द हुँदा नेपाल आउन नपाएका, रोजगारी गुमाएका र भिसा अवधि सकिएका हजारौँ नेपालीहरू फर्किन तयार रहेकाले उडानको संख्या बढाउनुपर्ने सुझाव राजदूतहरूको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको भर्चुअल छलफलमा राजदूतहरूले विदेशमा नेपाली कामदारहरूको अवस्थाका विषयमा समेत जानकारी गराएका छन्।
मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले ११ हजार भन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किएपनि अझैँ करिब ८ हजार फर्किने तयारीमा रहेको बताए। स्वदेश फर्किन नाम दर्ता गराएका बाहेक हरेक दिन ३ सय नेपालीहरूको भिसा अवधि सकिने गरेको उनले बताए।
दशैं तिहारको समय नजिकिँदै गर्दा चाप बढ्न सक्ने भएकाले एक हप्तामा १६ वटा नियमित उडान आवश्यक पर्ने उनको भनाइ छ। उनले कल्याणकारी कोषबाट उद्धार गर्ने नीति सरकारले लिएपनि व्यवहारिक हुन नसकेको बताए। अव्यवहारिक निर्देशिका अनुसार समस्यामा परेका नागरिकहरू घर फर्किन नपाएको उनले बताए।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्वदेश फर्किन चाहाने नेपालीहरूको संख्या धेरै नभएपनि समस्यामा परेकाहरूलाई पूर्ण रुपमा पीसीआर परीक्षण गरी पठाउने गरिएको बताइन्। करिब १४ सय जना अहिलेसम्म नेपाल फिर्ता भएको उल्लेख गर्दै उनले सकेसम्म निरोगी व्यक्तिहरूलाई आफ्नो देश फर्काउनुपर्ने नीति अनुसार पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरूलाई स्वदेश फर्काउने गरिएको बताइन्।
कुबेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारीले कुवेतमा ७० हजार कामदार रहेकोमा कोभिडका कारण ९ हजार २ सय बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएका बताए। अहिलेसम्म करिब ५४ सय जना नेपाली स्वदेश फर्किएको उनले बताए।
कतारका लागि नेपाली राजदूत डा. नारद नाथ भारद्वाजले कतारमा सीप नभएका अदक्ष कामदारहरूले समस्या भोगिरहेको बताए। उनले कोरोनाका कारण समस्यामा परेका नागरिकहरूलाई तत्काल उद्धार गर्न नसके समस्या उत्पन्न हुन सक्ने बताए। २० हजार बढीले स्वदेश फर्किनका लागि नाम दर्ता गराएको उल्लेख गर्दै उनले अझैँ प्रतिदिन १ सय ५०ले बढेको उनले बताए।
दैनिक ४ वटा उडान गर्न नसके अहिले कतारमा थन्किएका १६ हजार बढी र चाडबाँडको समयमा फर्किन चाहानेहरू समेत समस्यामा पर्ने उनले बताए। साउदी अरेबियाका लागि नेपाली राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले २८ हजार बढीले स्वदेश फर्किन निवेदन दिएपनि १० हजारलाई मात्रै पठाउन सकिएको बताए।
उडानका लागि नेपालका सम्बन्धित अधिकारीहरूले आवश्यक समन्वय नगर्दा समस्या उत्पन्न हुने गरेको उनको गुनासो छ। स्वदेश फर्किन विमानस्थल पुगेका नागरिकहरूलाई अन्तिम समयमा आएर काठमाडौंबाट उडान स्थगित भएको भन्ने जानकारी आउँदा समस्या हुने गरेको उनले बताए।
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोभिड-१९ क्राईसिस म्यानेजमेन्ट सेन्टरको निर्णअनुसार चार्टर्ड उडानमार्फत नेपालीहरूलाई स्वदेश फर्काउने गरिएको बताए। अहिलेसम्म ११ सयलाई स्वदेश फर्काइएको उल्लेख गर्दै उहाँले दशैको समयमा चाप बढ्न सक्ने बताए।
राजदूतहरूले इलिगल कामहरू बढी समस्यामा पर्ने गरेको बताएका छन्। नेपालमा नै सम्बन्धि देशहरूसँगको श्रम सम्झौता अनुसार नेपालमा नै सीप सिकाएर पठाउनुपर्नेमा उनीहरूले जोड दिएका छन्। विशेष गरी घरेलु कामदारहरूलाई आफू जाने देशको प्रचलित कानून र भाषाको ज्ञान नहुँदा पनि समस्या हुने गरेको उनीहरूको भनाइ छ।