पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खस्यो, चालक र सहचालक सकुशल
पेट्रोल बोकेर काठमाडौंका लागि छुटेको एउटा ट्यांकर दुर्घटना भएर त्रिशूली नदीमा खसेको छ। ना ४ ख २८२२ नम्बरको ट्यांकर धादिङको गल्छी गाउँपालिका-६ चरौंदीबाट त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मनिराम भट्टका अनुसार नदीमा खसेको ट्यांकमा आगलागी भएको थियो। दमकलको सहायताले आगो निभाइसकिएपनि ट्यांकर भने नदीमै रहेको डीएसपी भट्टले हिमालखबरलाई बताए।
बिहान करीब २ः३० बजे ट्यांकर त्रिशूलीमा खसेको थियो। दुर्घटनामा परेका ट्यांकरका चालक र सहचालक दुवै सकुशल छन्। ट्यांकरमा उनीहरूमा रहेको प्रहरीले जनाएको छ।
चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ का ३६ वर्षीय सुदिप बोहरा र सहचालक सोही ठाउँका २२ वर्षीय मनिष नगरकोटी सम्पर्कमा आइसकेको डीएसपी भट्टले बताए।
उनका अनुसार नदीको बीच भागमा भएको ट्यांकर बाहिर निकाल्ने तयारी भइरहेको छ। नदीमा डुबेको ट्यांकरको केही भाग मात्र देखिएको छ।