महामारीबीच पनि समग्र आर्थिक सूचकहरु नकारात्मक छैनन्ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीबीच पनि समग्र आर्थिक सूचकहरु नकारात्मक नभएको बताएका छन्। उनले विकासको गति केही सुस्त भए पनि नरोकिएको दाबी गरेका छन्।
छैटौं संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महामारीको अवस्था नआएको भए अघिल्लो वर्ष गरेका प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा सरकार रहेको बताए। उनले भने, “कोरोना नभएको भए भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची आयोजना, रानीपोखरीको पुनर्निर्माण, धरहरा निर्माण र निजी आवास पुनर्निर्माणको काम सम्पन्न भइसक्ने अवस्थामा पुग्ने थिए।”
बन्दाबन्दीको अवधिमा १७८ किमी सडक कालोपत्रे भएको, ८९ मोटरेवल पुल निर्माण भएको र भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएको उनले जानकारी दिए। विकास र उन्नतिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको उनले बताए।
वैदेशिक व्यापार घाटा सुधारोन्मुख रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बैकिङ क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे बताए। प्रधानमन्त्री ओलीले कोरोना संकटका बेला पनि मूल्य वृद्धि नियन्त्रणमा नै रहेको बताए।
ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको भन्दै भ्रष्टाचार विरुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे। उनले भने, ‘‘अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दामुखमा पानी हालेर बोल्दिनँ।”