संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारलाई संसदीय समितिको ध्यानाकर्षण
संसदीय समितिले रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
संसदको कानून, न्याय तथा मानवअधिकार समितिले मानवअधिकार संरक्षण र संवर्द्धनमा टेवा पुर्याउने संरचनाको रुपमा रहेका संवैधानिक आयोग पदाधिकारी विहीन हुन नहुने भन्दै नियुक्तिका लागि ध्यानाकर्षण गराएको हो।
संविधानले नै व्यवस्था गरेका महिला आयोग, दलित आयोग, थारु आयोग, समावेशी आयोग लगायतका आयोगहरुमा छिटो पदाधिकारी नियुक्त गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताए।
यसैबीच, समितिले देशका विभिन्न स्थानमा प्रहरी हिरासतमा मृत्यु भएका घटनाहरुको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ।
मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आउँदो आइतबारसम्म प्रधामन्त्रीलाई प्रतिवेदन बुझाइसक्ने निर्णय पनि समितिले गरेको छ।