राजश्व घट्यो, भ्याट भने लक्ष्यभन्दा धेरै उठ्यो
आयकर, अन्तशुल्क र कुल राजश्व संकलनमा समस्या भएको आन्तरिक राजश्व कार्यालय विराटनगरलाई भ्याट भने लक्ष्य भन्दा बढी प्राप्त भएको छ।
बन्दाबन्दीका कारण राजश्व संकलन लक्ष्य भन्दा धेरै कम हुंदै आएकोमा भ्याट संकलन निकै बढी रहेको राजश्व कार्यालयले जनाएको छ।
भदौ महीनामा आयकर ७४ प्रतिशत संकलन हुंदा भ्याट १४० प्रतिशत उठेको छ। भदौमा रु. १२ करोड १० लाख भ्याट संकलन गर्ने लक्ष्य रहेकोमा रु १७ करोड बढी संकलन भएको कार्यालय प्रमुख बिमल सापकोटाले बताए।
सापकोटाका अनुसार, भदौमा कुल राजश्व रु. ५७ करोड ५६ लाख उठाउने लक्ष्य रहेकोमा रु. ३७ करोड ६९ लाख मात्रै संकलन भएको छ। ३० भदौसम्ममा लक्ष्यको ६१ प्रतिशत मात्रै उठेको थियो। भदौमा आयकरमा पनि रु. १२ करोड २९ लाख संकलनको लक्ष्य रहेकोमा ३० भदौसम्ममा रु. ९ करोड ६८ लाख उठेको छ।
गत साउनमा लक्ष्यको ८१ प्रतिशत कुल राजश्व उठेकोमा भ्याट सतप्रतिशत उठेको थियो। अन्तशुल्कमा भनें साउन र भदौमा निकै कम राजश्व उठेको छ।
मदिरा असार महीनामै बढी निकासी हुंने भएकाले साउनमा लक्ष्यको ४६ प्रतिशत मात्रै अन्तशुल्क उठेको उनले जानकारी दिए। रङका चण्डिका, गोल्डेन ग्लोब्स र नेपाल लिकर्स गरी तीन वटा मदिरा उद्योगले विराटनगरमा अन्तशुल्क बुझाउंने गरेका छन्।
साउनमा कुल राजश्व रु. ७१ करोड ६४ लाख संकलन हुंने लक्ष्य रहेकोमा रु. ६२ करोड ४७ लाख मात्रै उठेको थियो।
आर्थिक वर्ष २०७६/७७ मा रु. १० अर्ब १२ करोड राजश्व उठाउने लक्ष्य रहेकोमा ६९ प्रतिशत अर्थात रु. ६ अर्ब ९५ करोड मात्रै उठे पनि भ्याट भने सतप्रतिशत उठेको सापकोटाले बताए।
गत वर्ष रु. १ अर्ब ८५ करोड भ्याट उठेको थियो। “भ्याट संकलनमा खासै समस्या छैन, कहिलेकांही लक्ष्य भन्दा बढी पनि उठने गरेको छ”, उनले भने, “लकडाउनका कारण गत चैतयता भने कुल राजश्व संकलनमा समस्या छ।”
गत वर्ष आयकर रु. ३ अर्ब २६ करोड उठाउने लक्ष्य रहेकोमा ८१ प्रतिशत (रु. २ अर्ब ६४ करोड) उठेको थियो। यस्तै अन्तशुल्कमा रु. ४ अर्ब ९९ करोड संकलनको लक्ष्य भएपनि ४९ प्रतिशत मात्रै उठेको उनले बताए।