दोस्रो प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंहको निधन
नेपालका दोस्रो प्रधानन्यायाधीश अनिरूद्रप्रसाद सिंहको निधन भएको छ। १०४ वर्षको उमेरमा मंगलबार राति उनको निधन भएको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फेसबुकमा उल्लेख गरेका छन्।
पूर्वप्रधानन्यायाधीश सिंह पछिल्लोसमय न्यूमोनियाबाट ग्रसित थिए। उनी हरिप्रसाद प्रधानपछि प्रधानन्यायाधीश बनेका थिए। उनले ८ जेठ २०१३ दखि १५ असार २०१६ सम्म प्रधानन्यायाधीश भएर काम गरे।
प्रधानन्यायाधीशबाट सेवानिवृत्त भएपछि उनलाई राजा महेन्द्रले ६ असोज २०१९ मा दरबारभित्र खडा गरिएको विशेष जाहेरी विभागको मुख्य पदाधिकारीमा नियुक्ति दिएका थिए।
उक्त विभागको काम ठूलाबडाले गर्ने थिचोमिचो र अन्याय लगायतका विषयमा परेका बिन्तीपत्र छानबिन गरी राजामा जाहेर गर्ने थियो। गलैंचा काण्डका नामले चर्चित भ्रष्टाचार छानविन गर्न राजा विरेन्द्रले पनि सिंहकै अध्यक्षतामा जाँचबुझ आयोग बनाएका थिए।
त्यही वेला २०३२ सालमा नेपालको संविधान संशोधन गरेर अख्तियार दुरुपयोग निवारण आयोग बनाइयो। हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोग बनाइएको उक्त आयोगको पहिलो प्रमुख आयुक्त सिंह नै थिए। उनी १३ पुस २०३४ देखि ३० वैशाख २०४२ सालसम्म करीब आठ वर्ष प्रमुख आयुक्त भए।