अध्ययन भन्छ- कोरोना भाइरसले मस्तिष्कका कोषलाई संक्रमण गराउन सक्छ
कोरोना भाइरसले मानिसको मस्तिष्कका कोषलाई संक्रमण गराउन सक्ने देखाएकोे छ। लाइभसाइन्समा प्रकाशित समाचार अनुसार कोरोना भाइरसले मस्तिष्कको कोषलाई संक्रमण गराउन सक्ने अध्ययनले देखाएको हो।
अध्ययनले कोरोना भाइरसले मानिसको मस्तिष्कमा हुने न्यूरोन्स नामक कोषलाई प्रत्यक्ष रूपमा संक्रमित गराउन सक्ने देखाएको छ। मस्तिष्कका कोषिकाहरुमा संक्रमणको असर पर्दा संक्रमित नभएका तर नजिक भएका न्यूरोन्समा भाइरसले मेटाबोलिक परिवर्तन ल्याउने अध्ययन प्रतिवेदनमा उल्लेख छ।
अध्ययनकर्ताहरुले कोरोनाका कारण मृत्यु भएका तीन जना बिरामीहरुको अटोप्सी गरिएको मस्तिष्कको टिस्यूलाई जाँच गरेर हेर्दा उक्त कुरा पत्ता लगाएका हुन्। अध्ययनका अनुसार कोरोना भाइरसले विभिन्न ढंगबाट मस्तिष्कका कोषिकाहरुलाई क्षति गराउँछ, जसले घातक सुजकदेखि इन्सेफलोपेथी जस्ता मस्तिष्क रोगहरु समेत निम्याउँछ।
कोरोना भाइरसले मस्तिष्कमा असर गर्दा दोधार हुने, भ्रम हुने र एकाग्रह नहुने जस्ता समस्या निम्तिन सक्ने अध्ययनले देखाएको छ। तर, अध्ययनमा उल्लेख भए अनुसार कोरोना भाइरस आफैंले मतिष्कको टिस्यूमा आक्रमण गरेको विषयका थोरै मात्र प्रमाणहरु भेटिएका थिए।
“हामीले कति पटकसम्म मस्तिष्कमा संक्रमण हुन्छ भनेर पत्ता लगाउन धेरै बिरामीहरुको टिसुहरु हेर्दैछौँ,” लाइभ साइन्ससँग कुरा गर्दै अध्ययनकर्ता तथा याले युनिभर्सिटिका इम्युनोलोजीष्ट आकिको इवासाकीले भनिन्, “कोरोनाका लक्षणहरु मानिसको मस्तिष्कको कुन भाग/क्षेत्रसँग सम्बन्धित छ भनेर पनि हेर्दैछौं।”
अध्ययनमा उल्लेख भए अनुसार वैज्ञानिकहरुले कोरोना भाइरस कसरी मानिसको मस्तिष्क भित्र प्रवेश गर्छ र यसलाई कसरी मस्तिष्क भन्दा बाहिर राख्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन भने बाँकी नै छ।