रारामा सेनाको निशुल्क स्वास्थ्य शिविर
नेपाली सेनाको श्रीदल गुल्मको आयोजनामा छायानाथ पर्यटकीय स्थल रारा नजिकै माझघट्टमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जनरल रोगहरूको जाँच तथा उपचारका लागि सञ्चालित उक्त शिविर शुक्रबार एक दिनका लागि चलाइएको हो ।
श्रीदल गुल्मको आयोजना र २४ नम्बर बाहिनी जुम्ला अन्तर्गत २४ फिल्ड एम्बुलेन्स नेपाली सेनाका स्वास्थ्य टोलीको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको श्रीदल गुल्म राराका गुल्मपति सेनानी रवि केसीले जानकारी दिए । शिविरमा झण्डै तीन सयभन्दा बढी स्थानीयवासीको स्वास्थ्य परीक्षण र उपचार गरिएको उनले बताए ।
शिविरमा सहभागी भएकामध्ये अधिकांश महिलामा पाठेघर खस्ने र तल्लो पेट दुख्ने, ढाड दुख्ने, ग्याष्टिकको समस्या र बालबालिकामा कान पाक्ने समस्या बढी देखिएको उपचारमा संलग्न नेपाली सेनाका डाक्टर विनोद थापाले जानकारी दिए ।
शिविरमा नगरपालिकाका मुर्मा, झ्यारी, पिना, तुम तथा खत्याड गाउँपालिकाका सेरी, जम्फै, निगालीबोट लगायत ठाउँका स्थानीयले निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि उपचार गराएका थिए।
शिविरमा नेपाली सेनाका एक दर्जन बढी स्वास्थ्यकर्मी परिचालन गरिएका थिए भने ६० प्रकारको औषधि ल्याइएको थियो ।
निशुल्क स्वास्थ्य जाँच र औषधि गरिने थाहा पाएपछि ३ घण्टा पैदल यात्रा गरेर यहाँ पुगेको छायानाथ रारा नगरपालिका– ३ माथि तुम गाउँकी ६० वर्षीया कन्नशिला रावलले बताइन् ।
लामो समयदेखि शरीर र छाती दुख्ने समस्याले उपचार शिविरमा पुगेकी हुँ । “आर्थिक अभावले उपचार गराउन नसकेको उनी बताउँछिन् । “यहाँ आएर निशुल्क जाँच गर्न तथा औषधि पाउँदा खुशी लाग्यो,” उनले भन्छिन् । –अच्युत राज भण्डारी