बाल दिवसमा राष्ट्रपतिको सन्देश– बालबालिकाको भविष्य सुनिश्चित गर्न संवेदनशील हुनुपर्छ
राष्ट्रपति विद्यादेवि भण्डारीले बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, अभिभावक लगायत निकाय र व्यक्ति संवेदनशील हुनुपर्ने बताएकी छिन्।
राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले महामारीको असहज परिस्थितिमा शैक्षिक संस्थाहरु बन्द भए पनि वैकल्पिक माध्यमबाट पठनपाठन संचालन गर्ने प्रयासको सराहना गरेकी छिन्। महामारीको अन्त्यपछि शैक्षिक क्रियाकलापहरु यथावत् सुचारु हुनेमा आफू विश्वस्त रहेको उनले जनाएकी छिन्।
नेपालको संविधान तथा कानूनमा बालअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धनका लागि महत्वपूर्ण प्रावधानहरु व्यवस्था गरिएको राष्ट्रपति भण्डारीको भनाइ छ। शुभकामनामा भनिएको छ, “हाम्रो मुलुकले बालअधिकार सुनिश्चित गर्न विभिन्न अन्तराष्ट्रिय सन्धि, सम्झौता, तथा प्रतिवद्धताहरुमा हस्ताक्षर गरिसकेको छ। यी प्रावधानहरुको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व हुन आएको छ ।”
नेपालले ‘बालअधिकारसम्बन्धि महासन्धी १९८९’ लाई १४ सेप्टेम्बर १९९० अर्थात २९ भदौ २०४७ मा अनुमोदन गरेको थियो। त्यसैको सम्झनामा २०६३ सालदेखि २९ भदौलाई बाल दिवसका रुपमा मनाउन थालिएको हो।
त्यसअघि भने ४ भदौमा बाल दिवस मनाइन्थ्यो। २०२१ सालमा तत्कालीन रानी रत्नराज्यलक्ष्मी शाहले नेपाल बाल संगठनको स्थापना गरेको स्मरणमा ४ भदौमा बाल दिवस मनाउने गरिएको थियो।