ट्रान्सपरेन्सी नेपालले भन्यो- 'प्रधानमन्त्रीकै संरक्षणमा ठूला भ्रष्टाचार मौलाए'
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा भ्रष्टाचार मौलाएको आरोप लगाएको छ।
खुद्रे मुद्दाहरू बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रण गरिरहेको बताए पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचार निरन्तर भइरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको फाइल तामेलीमा राखेपछि ट्रान्सपरेन्सी इन्टरनेशनलले यस्तो आरोप लगाएको हो। ट्रान्सपरेन्सी ईन्टरनेशनलका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको झुठो प्रतिवद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरू संरक्षित भएको बताए।
बालुवाटार जग्गा प्रकरण, सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि हुने रेग्मीको भनाइ छ।
‘‘भ्रष्टाचारको मूल भनेको राजनीतिक नेतृत्व हो। तलका खुद्रा, मसिनालाई रोकेर भ्रष्टाचार नियन्त्रण हुँदैन। यो सम्बन्धमा प्रधानमन्त्रीले बेला बखत म भ्रष्टाचार गर्दिनँ अरुलाई पनि गर्न दिन्न, शून्य सहनशिलता अपनाउँछु भन्नु भयो तर व्यवहारमा उतार्न सक्नु भएन," अध्यक्ष रेग्मीले भने, "उहाँको भ्रष्टाचार विरुद्धको बोली ओठे प्रतिवद्धता मात्रै देखियो कार्यान्वयन भएन। प्रधानमन्त्रीको बोलाइ र गराइमा एक रुपता देखिएन। उहाँका नजिक रहेका राजनीतिक र कर्मचारी तहमा भएका मानिसहरुले जति लुटेपनि हुन्छ। हामीले प्रधानमन्त्रीबाट वा सरकारबाट संरक्षण पाउँछौँ। यसमा अख्तियारको पनि केही चल्दैन भन्ने देखियो।’’
अध्यक्ष रेग्मीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त सरकारको नीति निर्देशन अनुसार काम गर्ने कारिन्दाका रूपमा देखिएको बताए। अख्तियारका पछिल्ला कदमहरूले यस्तो आयोगको औचित्य छ की छैन भनेर शंका उब्जाएको उनको भनाइ छ।
ठूला भ्रष्टाचारका मुद्दाहरू ‘तामेली’ मा राख्दै जाने प्रवृतिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको औचित्य समाप्त हुने उनको भनाइ छ। अख्तियार राजनीतिक नेतृत्व तहको संलग्नतामा हुने ठूला भ्रष्टाचारका मुद्दामा कारवाही प्रकृया अगाडी बढाउन चुकेको उनले आरोप लगाए।
दोषिहरू उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा माहामारीको मौका छोपेर गुपचुपमा अर्बौ रुपैयाँ हिनामिना गर्ने व्यक्तिलाई उन्मुक्ति दिने काम अख्तियारले गरेको भन्दै त्यसप्रति ट्रन्सपरेन्सी इन्टरनेशनलले ध्यानकर्षण भएको अध्यक्ष रेग्मीले बताएका छन्।
यसैबीच अध्यक्ष रेग्मीले आज एक विज्ञप्ति जारी गरी अख्तियारले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको ठूलो अनियमितता सम्वन्धी मुद्दाको फाईल हतारहतारमा तामेलीमा राखेकोप्रति टीआई नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
चारवटा संसदीय समितिहरू, महालेखा परिक्षकको कार्यालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालय समेतले आयल निगमको जग्गा खरिद प्रकरणमा व्यापक अनियमितता भएको तथा प्रचलित कानूनको ठाडो उल्लंघन गरी निगमलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्याएको भन्ने प्रतिवेदन दिए पनि फाइल तामेलीमा राख्ने कार्यले आयोगका पदाधिकारीहरूको कार्यक्षमता, ईमान्दारिता र नियतमा गम्भीर प्रश्नहरू उठेको रेग्मीले बताएका छन्।