राष्ट्रसंघीय मिसनमा लिबिया जान लागेका सैनिकहरूमा कोरोना देखिएपछि उडान स्थगित
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यअन्तर्गत लिबिया जान लागेको नेपाली सेनाको टोलीका केही सदस्यमा कोरोना संक्रमण देखिएपछि सोमबार हुने तय भएको उडान स्थगित भएको छ।
यूनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया (यूएन्समिल) मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न जानलागेको अर्को टोलीका सदस्यहरूमा कोरोना संक्रमण देखिएको हो। यो टोली सोमबार नेपाल वायुसेवा निगमको चार्डर्ड उडानमार्फत् लिबिया जाने तय भएको थियो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले लिबिया जान लागेको टोलीका केही सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएकाले अहिलेका लागि उडान स्थगित गरिएको जनाएको छ।
निर्देशनालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम सकेर क्वारेन्टिनमा बसेका सैनिकहरूको उडानपूर्व गरिएको परीक्षणमा केहीमा कोरोना संक्रमण देखिएको उल्लेख छ।
उनीहरूको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिंग गरी पुनः स्वास्थ्य परीक्षण गरेपछि मात्र अर्को उडान मिति तय गरिने सेनाले जनाएको छ।