गाँजाका ग्राहक खोज्दै हिंड्ने पक्राउ
गाँजा खरिद गर्ने ग्राहक खोज्दै हिंडेका धनकुटाका एक व्यक्ति शुक्रबार विराटनगरमा पक्राउ परेका छन् ।
कालो ब्यागमा सात किलो गाँजा हालेर ग्राहक खोज्दै हिंडेका धनकुटा खाल्सा छिन्ताङ–२ का ४५ वर्षीय कुलबहादुर सार्कीलाई विराटनगरको मिल्स एरियाबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
गस्तीमा हिंडेका सुरक्षाकर्मीलाई देखेर भाग्न खोजेपछि सार्कीले बोकेको ब्याग तलासी गर्दा गाँजा फेला परेको सशस्त्रले जनाएको छ ।
सशस्त्रको विराटनगरस्थित राजश्व भन्सार ९ नम्बर गुल्मका नायब उपरीक्षक सुरेन्द्रराज रञ्जीतकारले गाँजा बोक्ने व्यक्तिले कोही व्यक्तिलाई दिनकै लागि धनकुटाबाट ल्याएको हुनसक्ने बताए ।
सार्कीले भने आÏनो घर छेउको बंगुरको खोरमा उम्रिएका तीनवटा गांजाको बोटमा सात किलो उत्पादन भएको र सीमावर्ती क्षेत्रमा पाँच हजार रुपैयाँ किलोमा बिक्री हुने सुनेर ग्राहक खोज्न हिंडेको बताए ।
बसमा यात्रा गर्दा ब्यागको गाँजा गन्हाउने डरले बडी स्प्रे छर्दै ल्याएको सार्कीले बताए । नायब उपरीक्षक रन्जीतकारका अनुसार, सार्कीको परिवारमा सम्पर्क गर्दा गाउँमै कहिले काहीँ गाँजा बिक्री गर्ने उनी पहिलो पटक विराटनगर आएका थिए । सार्कीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्रले जनाएको छ । -कमल रिमाल