विकास बजेटमा जनप्रतिनिधिको ‘मनोमानी’
- भरत पाण्डेय
झण्डै २ दशक स्थानीय निर्वाचन नहुँदा जनताले विकासका काम लथालिङ्ग भएको महसुस गरे ।
गतवर्ष गाउँ गाउँमा सिंहदरबारको नाराका साथ स्थापना भएको स्थानीय तहमा जनप्रनिनिधि आएपछि विकास र सरकारी सेवा प्रभावकारी हुने स्थानीयको आशा थियो । तर रामेछापको रामेछाप नगरपालिका २ मा जनताको त्यो आशा निराशामा बदलिएको छ ।
नगरसभाको निर्णय लत्याउँदै मोटरबाटोको ‘रुट’ परिवर्तन गरेपछि आफ्नै वडाध्यक्षविरुद्ध जनताले जिल्ला प्रशासनमा उजुरी समेत गरेका छन् ।
१२ फागुनमा गरिएको उजुरीमा समीडाँडा–शीतलादेवी मावि–लाम्टे–बस्नेतगाउँ–कात्तिके मोटरबाटोमा वडाध्यक्ष निरकुमार श्रेष्ठले मनोमानी गरेकाले कारबाहीको माग गरिएको छ ।
अध्यक्षको मनपरी भन्दै विकासका काममा एकजुट हुनुपर्ने जनप्रतिनिधिहरूसमेत विभाजित छन् । गतवर्ष नै रुट परिवर्तन गर्दा स्थानीयले विरोध गरेका कारण यो वर्ष नगरसभाको निर्णयअनुसार गर्ने लिखित सहमति भएपनि अध्यक्षले मनोमानी गरेको वडाका सदस्य सुशील बख्रेलको आरोप छ ।
वडाध्यक्ष श्रेष्ठले भने लाम्टेतर्फबाट सडक खन्दा बढी खर्चिलो हुने र ‘ब्लाष्टिङ’ गर्नुपर्ने भएका कारण अर्कोतर्फबाट खनिएको बताए । ‘डेढ/दुई करोड नभईकन बाटो खन्न नसकिने, त्यसमाथि विद्युतको मेन लाइन पनि भएका कारण अलि माथिबाटै बाटो खन्यौँ”, उनले भने ।
गतवर्ष फेल भएको सडकमा यो वर्ष भुक्तानी
सो वडाको कात्तिके सडकमा ‘ग्रेड’ नमिलेको भए पनि रु दुई लाख ८१ हजार तीन सय भुक्तानी दिइएको छ । उक्त सडकमा मोटरसाइकलसम्म गुड्न सक्ने अवस्था नभएको वडा सदस्य अनिता काफ्ले बताउँछिन् ।
गाउँपालिकाका इञ्जिनियर तिलक श्रेष्ठले भने पहिला फेल भएको सडक पुनः सुधार गरेपछि भुक्तानीको सिफारिस गरेको बताए । “सोलिङ गरेर सडक सुधारेर मिलाएपछि पास गरेर रकम लगेको हो”, इञ्जिनियर श्रेष्ठले भने ।
उक्त बाटोमा बजेट अभावका कारण ग्रेड मिलाउन नसकिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
वडाध्यक्ष श्रेष्ठले आफ्नै डोजर प्रयोग गरेर मनपरी भुक्तानी लिने गरेको पनि आरोप छ । तर, वडाध्यक्षले भने आफ्नो नभई काकाको डोजर भएको बताए ।
वडा सदस्यले आफ्नै नाममा भुक्तानी लिन्छन्
जनतालाई बेमौसमी तरकारी खेतीका लागि छुट्ट्याइएको रकम वडासदस्य अर्जुन पौडेलले भुक्तानी लिएका छन् ।
उनले रु दुई लाख ९१ हजार रुपैयाँ भुक्तानी लिएको स्वीकारे । “त्यो वर्ष हामी ५ जना वडा सदस्यले योजनाको जिम्मा लिएर काम गर्दा कतिपय योजनाको रकम आफ्नै नाममा भुक्तानी भएको हो”, उनले भने “सो रकमबाट गाउँमा ड्रम र तरकारीको बीउ वितरण गरेको छु ।”
अर्का वडा सदस्य अनिता काफ्लेको नाममा पनि रु दुई लाख ९१ हजार भुक्तानी भएको छ । “स्वयंसेविकाका लागि २ दिन तालिम दिएको रकम मेरोे नाममा भुक्तानी भएको हो”, उनले भनिन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालका अनुसार त्यसरी जनप्रतिनिधिका नाममा रकम भुक्तानी लिनु नियमविपरीत भएको भन्दै त्यसो नगर्न महालेखाले सचेत गराएको छ ।
वडा सदस्यलाई खरायो पालनमा बजेट
गतवर्ष व्यावसायिक खरायो पालनका लागि विनियोजन भएको रु चार लाख ८५ हजार वडा सदस्य पौडेलले खोर देखाएर भुक्तानी लिएका छन् । पौडेलकी श्रीमती लक्ष्मी खरायो पालन समितिमा सचिव छन् । गोठ भने अहिलेसम्म बनेको छैन ।
सदस्य पौडेलले भने रकम लिएपछि अहिले खरायोको गोठ बनाएको बताए । “हामी ३ जनाको फर्म हो, सबै काम गर्ने जिम्मा भिमसेन रोकालाई दिएका थियौँ तर त्यति राम्रोसँग काम नगरेपछि अहिले उसकै भाइ दिपेशले काम गरेको छ”, उनले भने ।
आठ महिनासम्म ब्याङ्क दाखिला भएन राजश्व
उक्त वडामा जम्मा भएको राजश्व समेत आठ महिनासम्म ब्याङ्क दाखिला भएको छैन । वडाअध्यक्ष निरबहादुर श्रेष्ठले खर्च गरेका कारण ८ महिनासम्म ब्याङ्क दाखिला हुन नसकेको सचिव सोमबहादुर श्रेष्ठको भनाइ छ ।
चालु आर्थिक वर्षको ८ महिनासम्म पनि राजश्व ब्याङ्क दाखिला नभएको भन्दै नगरपालिकाले ताकेता गरेपछि सचिवले वडाध्यक्षसँग पैसा मागेका थिए ।
तर अध्यक्षले वडाको रकममा आफ्नो पनि अधिकार भएको भन्दै १२ चैतमा वडाको बैठकमै आफूलाई थर्काएको सचिव श्रेष्ठले बताए ।
वडाध्यक्ष श्रेष्ठले भने सचिव सधैँ कार्यालय नजाने भएकाले रकमको सुरक्षाका लागि आफूले राखेको र भर्खरै मात्र वडाका लागि आवश्यक सामान किनेको बताए ।