प्रश्नपत्र बाहिरिएपछि प्रदेश नं. २ मा सामाजिक विषयको परीक्षा पनि स्थगित
परिक्षा सुरु हुनु अगाडि नै प्रश्नपत्र सार्वजनिक भएपछि प्रदेश नं. २ मा आज एसईईको सामाजिक विषयको परीक्षा स्थगित भएको छ ।
सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रण कार्यालयले आजको परीक्षा स्थगित गरेको हो ।
कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्नपत्र आउट भएको पुष्टिपछि प्रदेश नं २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए ।
“सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्ट भाइरल भएका कारण आजको सामाजिक विषयको परीक्षा रद्द गरेका छौँ ”, उनले भने।
एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय र ग्रेड वृद्धिको विषयको परीक्षा भने यथावत सञ्चालन हुने उनले बताए ।
परिक्षा स्थगनको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ । विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै घण्टाघरमा टायर बालेर विरोध गरे ।
परीक्षा रद्द भएपछि प्रदेश नं २ का ८ जिल्लाका ७२ हजार ४९ विद्यार्थीले परीक्षा दिन पाएनन् ।
बिहीबार पनि सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं २ मा सो विषयको परीक्षा रद्द गरिएको थियो ।