जनकपुर बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाई जन्मकैद
६ वर्षअघि जनकपुरमा भएको बमकाण्डमा पूर्वराज्यमन्त्री सञ्जयकुमार साह (टक्ला) सहित सातजनालाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
जनकपुरमा भएको उक्त बमकाण्डमा परी पाँचजनाको ज्यान गएको थियो ।
जिल्ला अदालत धनुषामा आइतबारदेखि न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा यो मुद्दाको अन्तिम सुनुवाइ चलिरहेको थियो ।
पूर्व पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द झा गरी सातजनालाई जन्मकैद सजाय सुनाइएको अदालतका स्रेस्तेदार राधाकान्त झाले जानकारी दिए ।
मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा मिथिला राज्यको माग गर्दै धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट हुँदा पाँचजनाको ज्यान गएको थियो ।
उक्त बम विस्फोटमा परी रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो । दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।
सञ्जय साह पहिलो संविधानसभाको चुनावमा फोरम नेपालबाट जितेका थिए भने दोस्रो संविधानसभा चुनावमा तत्कालीन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए ।
पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत भएका थिए । बमकाण्ड घटना भएपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पूर्वपक्षका लागि थुनामा राखिएको थियो ।
साहमाथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्याकाण्डको मुख्य योजनाकार रहेको अभियोग समेत लागेको छ ।