काठमाडौंमा भारतीय विदेश सचिव, प्रधानमन्त्रीसँग भेट
भारतीय विदेश सचिव विजय गोखलेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् ।
भारतीय विदेश सचिव गोखले नेपाली समकक्षी सचिव शंकरदास बैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न बिहीबार नै काठमाडौं आएका हुन् ।
विदेश सचिवद्वयबीच द्विपक्षीय साझेदारीका साथै आपसी हितका क्षेत्रीय मुद्दा र अन्य मुद्दाबारे विचारविमर्श भएको भारतीय दूतावासद्वारा प्रेस विज्ञप्तिमा जनाइएको छ ।
दुई विदेश सचिवले सहकार्यको विविध क्षेत्रमा द्विपक्षीय आदानप्रदानलाई निरन्तरता दिने तथा दुई देशबीचको निकट, मैत्री तथा बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने सहमति भएको विज्ञप्तिमा जनाइएको छ ।
गोखलेले आजै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका थिए । भेटमा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।